काठमाडौँ : सिद्धार्थ बैंक र विश्व बैंक समूहको सदस्य संस्था अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बीच लघु, साना तथा मझौला उद्यम (एमएसएमई)कर्जाको जोखिम साझेदारीसम्बन्धी सम्झौता भएको छ ।
सम्झौताअनुसार सिद्धार्थ बैंकले प्रवाह गर्ने एमएसएमई कर्जामा निहित जोखिमको ५० प्रतिशत हिस्सा आईएफसीले वहन गर्नेछ । यसका लागि आईएफसीले बैंकलाई ४ करोड अमेरिकी डलर बराबरको जोखिम साझेदारी सुविधा उपलब्ध गराउने भएको छ ।
यस व्यवस्थाबाट देशभरका लघु, साना तथा मझौला उद्यममा कर्जा विस्तार गर्ने बैंकको क्षमता थप सुदृढ हुने अपेक्षा गरिएको छ । बैंकका अनुसार नेपालमा आईएफसीको यो पहिलो जोखिम साझेदारी पहल हो ।
सम्झौताबारे सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत रामेश्वरप्रसाद बश्यालले एमएसएमई कर्जा पोर्टफोलियो विस्तारका लागि यो महत्वपूर्ण कदम भएको बताए । चुनौतीपूर्ण आर्थिक परिस्थितिमा रहेका साना व्यवसायीलाई कर्जा प्रवाह गर्ने क्षमता थप सुदृढ हुने उनले उल्लेख गरे ।
विवेकपूर्ण कर्जा मापदण्ड कायम राख्दै एमएसएमई क्षेत्रमा कर्जा विस्तारमार्फत उद्यमशीलता, रोजगारी सिर्जना तथा नेपालको समावेशी आर्थिक वृद्धिमा योगदान पुर्याउने बैंकको लक्ष्य रहेको बश्यालले बताए ।
सम्झौताले सिद्धार्थ बैंक र आईएफसीबीचको लामो समयदेखिको सहकार्यलाई थप विस्तार गरेको बैंकले जनाएको छ । सन् २०१४ मा सिद्धार्थ बैंक आईएफसीको ग्लोबल ट्रेड फाइनान्स कार्यक्रमसँग आबद्ध भएको थियो ।
त्यसैगरी, सन् २०२३ मा सिद्धार्थ बैंकले आईएफसीबाट ५ करोड ५० लाख अमेरिकी डलर बराबरको सिन्डिकेटेड कर्जा सुविधा प्राप्त गरेको थियो ।