काठमाडौं : परराष्ट्रमन्त्री डा. आरजु राणा भारतका पाँचदिने औपचारिक भ्रमणमा आज दिल्ली प्रस्थान गर्नु हुने भएको छ । भारतका विदेशमन्त्री सुब्रमन्यम जयशङ्करको निमन्त्रणामा उहाँ आज भारत प्रस्थान गर्ने कार्यसूची रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार भारतको औपचारिक भ्रमणमा उहाँले भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीसँग भेटवार्ता गर्ने तयारी भइरहेको छ । दुई देशबिचको सम्बन्ध विस्तारसँगै उच्चस्तरीय भ्रमणलाई निरन्तरता दिने गरी यस भ्रमणमा परराष्ट्रमन्त्री राणाले पहल गर्ने अनुमान छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको चाहना अनुसार भारतका प्रधानमन्त्री मोदीको नेपाल भ्रमण गराउन पनि उहाँले पहल गर्ने जनाइएको छ। भ्रमणकाक्रममा उहाँले दुई देशबिचको विकास साझेदारी तथा भाबी सहकार्यका कार्यसूचीमाथि विदेशमन्त्री जयशङ्करलगायतका उच्चाधिकारीसँग छलफल गर्ने जनाइएको छ ।



