काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताका मुद्दालाई रक्षा गर्न सडक र सदनबाट प्रभावकारी कदम चालिने दाबी गर्नु भएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा माओवादीका पूर्वकेन्द्रीय सदस्य एवं सहिद रामवृक्ष यादवको स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा उहाँले आफूलाई जनता र वर्गप्रति फर्कने अवसर प्राप्त भएको बताउनु भयो ।
वर्तमान सत्ता गठबन्धनको उद्देश्य गलत रहेको उहाँको आरोप छ । सरकारमा रहेर हामीले जनताको पक्षमा प्रभावकारी रुपमा कार्यसम्पादन गरेका कारण विरोधीहरू आत्तिएर नयाँ गठबन्धन बनाएको अध्यक्ष दाहालको भनाइ थियो।
पार्टीलाई थप सुदृढ बनाउनेतिर अगाडि बढेको र त्यसको परिणाम छिट्टै देखिने अध्यक्ष दाहालले बताउनु भएको छ । स्पष्ट कार्ययोजनाका साथ पार्टीलाई एकताबद्ध गर्दै जनपरिचालनको गृहकार्य भइरहेको उहाँले उल्लेख गर्नु भयो ।
भ्रष्टाचार नियन्त्रण र सुशासनको पक्षमा दृढतापूर्वक कदम चालिएका कारण आफ्नो नेतृत्वको सरकार विस्थापित गरिएको अध्यक्ष दाहालले बताउनु भयो । नेपाली जनताले प्रष्ट रुपमा बुझेको उल्लेख गर्दै उहाँले भ्रष्टाचारका विरुद्ध आफूहरु लगातार उभिने दृढता व्यक्त गर्नु भयो ।



