काठमाडौं: शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले पुस्तकालय ऐन आवश्यक भइसकेको बताउनुभएको छ । शनिवार काठमाडौंमा सत्रौं पुस्तकालय दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले पुस्तकालयलाई व्यवस्थित गर्न,राज्य र पुस्तकालय बीचको सम्बन्ध स्थापित गर्न ऐन आवश्यक भएको बताउनु भयो । उहाँले सरकारले अहिले पुस्तक नीति प्रारम्भिक मस्यौदा तयार पारिसकेको र त्यसलाई व्यवस्थित बनाउन अझै केही छलफल आवश्यक रहेको बताउनु भयो ।
उहाँले पुस्तकालय सम्बन्धी नीति, केही ऐन कानून र केही व्यवहारिक कुराहरु गर्नुपर्ने अहिलेको आवश्यकता भएको बताउनु भयो । उहाँले नयाँ किसिमको पुस्तकालयको अवधारणामा सरकारले काम गरिरहेको पनि बताउनु भयो ।
उहाँले इ.लाइबेरीको विकास गर्नुपर्नेमा जोड दिनुभयो । मन्त्री भट्टराईले पुस्तकालयमा लगाइएको लगानीको व्यवस्थित सदुपयोग गर्नका लागि पनि नीति नियमको आवश्यकता रहेको बताउनु भयो ।



