एजेन्सी: भियतनाममा यागी नामक शक्तिशाली आँधीपछि आएको बाढीपहिरोले कम्तिमा ६५ जनाको मृत्यु भएको छ।
विपद व्यवस्थापन निकायले मंगलबार जारी गरेको सूचना अनुसार मृतकको संख्या ६५ पुगेको र ३९ जना अझै पनि बेपत्ता रहेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। धेरै जनाको मृत्यु बाढी(पहिरोमा परी भएको समाचारमा उल्लेख छ। यसमा परी ७५२ जना घाइते छन्।
आँधीपछि उत्तरी भियतनाममा पर्ने राजधानी हानोईसहित विभिन्न ठाउँमा थप बाढी समेत आउने भन्दै निकायले मंगलबार सूचना जारी गरेको हो।उत्तरी भेयतनाममा रहेका थुप्रै नदीहरूमा बहाव बढेर रेड अलर्ट देखाएको छ। धेरैले गाउँ र आवासीय क्षेत्र छाडिसकेको पनि विपद व्यवस्थापन निकायले जनाएको छ।
४ हजार ६०० भन्दा बढी सुरक्षाकर्मीहरू उद्धारका लागि खटिएका छन्। लाओ काइ प्रान्तमा सबैभन्दा धेरै १९ जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता छन्।यो आँधी ३० वर्ष यताकै शक्तिशाली भएको बताइएको छ।



