काठमाडौं :सुदूरपश्चिम प्रदेश सरकार अझै बजेट निर्माणको तयारीमा पुरा भएको छैन । चालू आर्थिक वर्षको तीन महिना बित्नै लाग्दा समेत प्रदेश बजेट निर्माणमै अल्झिएको हो ।
पटक–पटक डेटलाइन तोकेर बजेट निर्माणमा लागेको प्रदेश सरकारले अझैसम्म बजेट ल्याउन नसकेको हो । मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारले सुरुमा भदौ १०, त्यसपछि भदौ १५, २० गते हुँदै २५ गतेभित्रै बजेट ल्याउने डेटलाइन निर्धारण गरेको थियो ।
तर बजेट ल्याउने प्रदेश सरकारको अझै तयारी नपुगेको पाइएको छ । यहाँसम्म कि, बजेट कहिले आउँछ भन्नेबारे प्रदेश सरकारका मन्त्रीहरू नै नाजवाफ देखिएका छन् ।
तत्कालीन प्रदेश सरकारले असार १ गते प्रदेश सभामा प्रस्तुत विनियोजन विधेयक (बजेट) पास नभएपछि नवगठित सरकारले बजेट ल्याउँदै छ । निवर्तमान मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको सरकारले गत असार १ गते प्रदेश सभामा विनियोजन विधेयक (बजेट) पेस गरेको थियो ।



