काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान प्रक्रिया अघि बढाउन प्रहरी सक्रिय भएको छ। सहकारी ठगी प्रकरणमा संलग्न रहेको ठहर गर्दै उनलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय कास्कीले अनुमति माग गरेको छ।
प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले रविलाई पक्राउ गर्न जिल्ला अदालत कास्की पुगेका हुन्। अदालतमा न्यायाधीश कृष्णजंग शाहको बेन्चमा पक्राउ पुर्जीका लागि बहस भइरहेको छ।
संसदीय छानबिन समितिले पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछानेको संलग्नता पुष्टि गर्दै प्रतिवेदन तयार पारेको थियो। यसै प्रतिवेदनको आधारमा अनुसन्धान अघि बढाइएको हो।
यसैबीच पूर्व डीआईजी छविलाल जोशीलाई पनि सोही ठगी प्रकरणमा पक्राउ गरिएको थियो। असोज ६ गते पक्राउ परेका जोशीलाई आज पुनः अदालतमा पेश गरिएको छ।



