काठमाडौँ : नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले वर्तमान सरकारलाई सुशासनको मामिलामा कमजोर देखिएको आरोप लगाएका छन्।
पार्टीको जनप्रदर्शन र खबरदारी सभाको तयारीका क्रममा पेरिसडाँडामा आयोजित बैठकमा सम्बोधन गर्दै उनले सरकार आफ्ना मानिसहरूलाई जोगाउन र राजनीतिक प्रतिद्वन्द्वीहरूलाई लक्षित गरेर आक्रमण गर्ने रणनीतिमा लागेको टिप्पणी गरे।
प्रचण्डले आफ्नो नेतृत्वको सरकारले सुशासनको पक्षमा कुनै दल वा व्यक्तिलाई नछोडी कारबाही गरेको स्मरण गराउँदै भने "हामीले माओवादी, कांग्रेस, एमाले सबैलाई कानुनको दायरामा ल्याएका थियौं। तर अहिलेको सरकारले कांग्रेस र एमालेका नेताहरूलाई जोगाउने र प्रतिद्वन्द्वीलाई हान्ने काम गरिरहेको छ।"
उनले सरकारलाई सुशासन, भ्रष्टाचार नियन्त्रण र बाढीपहिरो पीडितहरूको राहतमा असफल भएको आरोप लगाए। प्रचण्डले भने "सरकारले बक्यौता महसुल उठाउन खोज्दा विद्युत प्राधिकरणका कार्यकारी निर्देशकलाई दोषी ठहराएको छ। भ्रष्टाचारमा लिप्तहरूलाई जोगाउन प्रयास गरिरहेको छ।"
सरकारको सय दिन पुगेपछि माओवादी केन्द्रले सरकारको गलत नीतिहरूको भण्डाफोर गर्दै जनतामा चेतना फैलाउने उद्देश्यले सडक संघर्षमा जाने योजना बनाएको उनले जानकारी दिए।



