काठमाडौँ : मंगलबार अपराह्न ४:२७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको भिस्तारा एयरवेजको जहाजमा बम भएको सूचना नेपाल नागरिक उड्डयन प्राधिकरणले प्राप्त गरेको थियो। भारतको नयाँ दिल्लीबाट आएको उक्त जहाजमा बम भएको जानकारी भारतीय नम्बरबाट ह्वाट्सएप कलमार्फत दिइएको थियो।
सूचना प्राप्त हुनेसँगै त्रिभुवन विमानस्थलमा नेपाली सेनाको बम डिस्पोजल युनिटसहितको टोली खटिएको थियो। सेनाले जहाजका प्रत्येक कुनाकुना जाँच गर्दै सबै लगेज चेक गर्यो, तर कुनै शंकास्पद वस्तु भेटिएन। तीन घन्टासम्म खोजी गर्दा पनि केही नभेटिएपछि जहाज सुरक्षित रहेको पुष्टि गर्दै मंगलबार राति दिल्ली फर्केको छ।
बमको सूचना कसले दिएको भन्ने बारेमा जानकारी भने खुलेको छैन। तर भिस्तारा एयरवेजको जहाज मात्र होइन भारतीय एयरलाइन्सका अन्य विभिन्न उडानहरूमा पनि यस्तै फर्जी सूचना दिइएको खुल्न आएको छ।
भारतीय समाचार पत्रिका इन्डिया टुडेका अनुसार, सोमबारदेखि मंगलबारसम्मको २४ घन्टामा भारतका विभिन्न एयरलाइन्सका ७९ वटा जहाजमा बम भएको सूचना प्राप्त भएको थियो। यी सूचना अधिकांश अन्तर्राष्ट्रिय उडानका जहाजहरूमा केन्द्रित थिए।
आन्तरिक उडानका केही जहाजहरूलाई पनि समेटिएको थियो। इन्डिगो एयरका २३ जहाज, भिस्तारा एयरवेजका २१, अकासा एयरका १२ र एयर इन्डियाका २३ जहाजमा बमको फर्जी सूचना ह्वाट्सएपमार्फत दिइएको बताइएको छ।
इन्डिया टुडेका अनुसार, एक हप्तामा १ सय ६९ वटा जहाजहरूमा यस्ता फर्जी सूचना आएका छन्। काठमाडौंमा देखिएका घटनाबाहेक जेद्दा, इस्तानबुल र रियादमा पनि भारतीय एयरलाइन्सका जहाजमा बमको झुटो सूचना प्रवाह भएको छ।
बमको सूचनाले सुरक्षाकर्मीलाई परिचालन गरिरहेको बेला चेकजाँच र खानतलासी गर्दा कुनै शंकास्पद वस्तु नपाइने प्रमाणित भएको छ। लगातार एक हप्तादेखि फर्जी सूचनाको बहस भइरहेका कारण भारतको नागरिक उड्डयन सुरक्षा ब्युरोले सबै एयरलाइन्सका प्रतिनिधिहरूसँग छलफल गरेको जनाएको छ।



