काठमाडौँ : हालै निलम्बनबाट फुकुवा भएका मेयर अजय प्रकाश जैसवालले बाढी पीडितको राहतमा विभेद गरेको आरोप लागेपछि कटहरिया नगरपालिकामा तालाबन्दी गरिएको छ। दर्जनौँ बाढी पीडित र स्थानीय जनप्रतिनिधिहरूको टोलीले मेयरको कार्यकक्ष र जिन्सी फाँटमा तालाबन्दी गरेका हुन्।
तालाबन्दीपछि प्रदर्शनमा उत्रिएका पीडितहरूले "मेयर चोर, कुर्सी छोड" जस्ता नारा लगाउँदै कटहरिया बजारमा प्रदर्शन गरेका छन्। गत असोजको दोस्रो साता अबिरल वर्षा र लालबकैया नदीको बाढीका कारण कटहरियामा सैयौं परिवार प्रभावित भएका थिए।
वडा नं. ४ का श्याम सुन्दर साह सोनारका अनुसार मेयर जैसवालले आफ्ना नजिकका मानिसहरूलाई मात्र राहत वितरण गरेको र अन्य गरीब तथा विपन्न समुदायलाई वञ्चित पारेको गुनासो गरेका छन्।
वडा नं. ५ का सदस्य रामेश्वर यादव र वैद्यनाथ दासले पनि मेयरले नगरका जनप्रतिनिधिहरूसँग सल्लाह नगरी आफ्नो मनपर्दी गरेका व्यक्तिलाई मात्र राहत कुपन दिएको आरोप लगाए।
आन्दोलनकारीहरूले सम्पूर्ण प्रभावितलाई राहत नदिएसम्म तालाबन्दी नखोल्ने अडान राखेका छन्।



