काठमाडौं : युरोपियन युनियन (ईयू) मा सबै साना र मध्यम आकारका पोर्टेबल इलेक्ट्रोनिक उपकरणहरूका लागि यूएसबी–सी चार्जिङ पोर्ट अनिवार्य बनाउने निर्णयसँगै उपभोक्ताहरूलाई विभिन्न डिभाइसहरूका लागि फरक–फरक चार्जरहरू प्रयोग गर्नु नपर्ने भएको छ।
सन् २०२२ मा, युरोपेली संसद र सदस्य राष्ट्रहरूले वैकल्पिक चार्जिङ प्रणालीहरूलाई हटाउँदै सबै डिभाइसहरूलाई एकै प्रकारको चार्जिङ पोर्टयुक्त बनाउन भारी बहुमतले निर्णय गरेका थिए। यो नियम अन्तर्गत ईयूमा बिक्री गरिने स्मार्टफोन, ट्याब्लेट, क्यामरा, हेडफोन, भिडियो गेम कन्सोललगायतका उपकरणहरूमा यूएसबी–सी पोर्टलाई स्ट्याण्डर्ड बनाउनुपर्नेछ।
ईयू नियमले उपभोक्ताहरूलाई नयाँ डिभाइस खरिद गर्दा चार्जर लिने वा नलिने छनोट गर्ने अधिकार पनि प्रदान गरेको छ। यसले अतिरिक्त चार्जर किन्नुपर्ने झन्झट र ई–फोहोरको मात्रा घटाउने अपेक्षा गरिएको छ।
यो निर्णयले विशेष रूपमा एप्पललाई प्रभाव पार्ने उल्लेख गरिएको छ। एप्पलले सुरुवातमा यो नियमको विरोध गरे पनि निर्देशनअनुसार आफ्ना डिभाइसहरूमा यूएसबी–सी पोर्ट समावेश गर्न थालिसकेको छ।
त्यस्तै, ल्यापटप निर्माताहरूले पनि सन् २०२६ को अप्रिल २८ देखि यो नियम पालना गर्नुपर्नेछ। यद्यपि, धेरै इलेक्ट्रोनिक्स निर्माताहरूले चार्जिङ प्रविधिको मानकीकरणमा ईयूको प्रयासलाई सुरुमा विरोध गरेका थिए।
युरोपेली संसदले यी परिवर्तनहरूलाई कडाइका साथ लागू गर्ने प्रतिबद्धता जनाएको छ। यस निर्णयले डिभाइस प्रयोगकर्ताहरूको अनुभव सहज बनाउनुका साथै वातावरणीय प्रभाव पनि कम गर्ने विश्वास गरिएको छ।



