काठमाडौँ : अमेरिकामा आगामी नोभेम्बर ५ मंगलबारका दिन हुन गइरहेको राष्ट्रपतिको चुनावमा झण्डै ७ करोड ८० लाख मतदाताहरूले मतदान गरिसकेका छन्। सन् २०२० मा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले ७ करोड ४२ लाख मत प्राप्त गरेका थिए।
फ्लोरिडा विश्वविद्यालयको निर्वाचन प्रयोगशाला (University of Florida's Election Lab) का अनुसार आइतबार राति ९:०० बजे सम्म करिब ७८ मिलियन अमेरिकीहरूले निर्वाचन मिति अगावै नै मतदान गरिसकेका छन्।
करिब ३५ मिलियन (३ करोड ५३ लाख) हुलाकमार्फत डाक मतपत्रहरू पठाइएका छन् भने मतदान केन्द्रमा गएर व्यक्तिगत रूपमा मतदान गर्नेको संख्या ४ करोड २६ लाख ५४ हजार पुगेको छ। यस वर्ष उपराष्ट्रपति कमला ह्यारिस र पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प बीचको प्रतिस्पर्धा अत्यन्तै कडा देखिएको छ।
स्मरणीय छ, सन् २०१६ मा हिलारी क्लिन्टन सर्वेक्षणमा अगाडि देखिए पनि अप्रत्याशित रूपमा ट्रम्पसँग पराजित भएकी थिइन्। सन् २०२० मा बाइडेनसँगको चुनावमा ट्रम्पले ७ करोड ४२ लाख मत प्राप्त गरेका थिए। उक्त समयमा सर्वेक्षणहरू बाइडेनलाई अगाडि देखाउँदै परिणाम सही सावित भए पनि २०१६ मा भने सर्वेक्षणहरू गलत सावित भएका थिए।
दुवै उम्मेदवार “ट्रम्प र ह्यारिस” अन्तिम समयमा कुनै कसर बाँकी नराखी चुनावी प्रचारमा जुटिरहेका छन्। हरेक दिन २-३ वटा राज्यहरूमा गई जनतालाई आफ्नो योजना र विचार प्रस्तुत गरिरहेका छन्।
सिबिएसन्यूजका अनुसार, पेन्सिलभेनियामा ट्रम्प र ह्यारिस ४९%-४९% को बराबरीमा छन्। कुनै पनि उम्मेदवार स्पष्ट रूपमा अगाडि देखिएका छैनन्। अर्को महत्वपूर्ण युद्धभूमि मिसिगनमा ह्यारिसले ५०% अङ्क प्राप्त गरेकी छन् भने ट्रम्प ४८% मा छन्। विस्कनसिनमा पनि ह्यारिस ५०% मा अगाडि छिन् र ट्रम्प ४८% मा छन्। नेभादामा दुबै उम्मेदवार ४९%-४९% को बराबरीमा रहेका छन्।
रिपब्लिकन गढ मानिएको जर्जियामा भने ट्रम्प ५०% मा छन् र ह्यारिस ४८% मा छन्। एरिजोना र नर्थ क्यारोलिनामा पनि ट्रम्पले ५०% अङ्कमा अग्रता लिएका छन्, जहाँ ह्यारिस ४८% मा छिन्। नेब्रास्का सिडी२ मा ह्यारिस ५१% मा छिन् भने ट्रम्प ४७% मा छन्।



