काठमाडौँ : तिहार समाप्त भएपछि धान भित्र्याउने तयारीमा रहेका धादिङका किसानलाई सोमबारको बेमौसमी झरीले ठूलो नोक्सानी पुर्याएको छ। बेमौसमी वर्षाका कारण धादिङको धेरैजसो क्षेत्रमा पाकेको धानबालीमा क्षति पुगेको छ। सोमबार बिहानै परेको झरीले काटेर भित्र्याउने तयारीमा रहेको धान भिजेर नष्ट हुँदा किसानहरू चिन्तित भएका छन्।
नीलकण्ठ नगरपालिका-९ का हरिशरण नेपालले सोमबार दिउँसो धान थन्क्याउन खेताला लगाएर तयारी गरिरहँदा झरीले सबै धान खेतमै डुबाएको बताउनुभयो। बिहान हल्का वर्षा भएपछि दिउँसो धान थन्क्याउने योजना रहेकोमा वर्षाले सबै प्रयास विफल बनाएको उहाँले जनाउनुभयो।
सिद्धलेक गाउँपालिका-७, अमिलछापका लक्ष्मण खतिवडाका अनुसार, तिहार सुरु भएपछि काटिएको धान पनि झरीले भिजाएको छ, जसले किसानलाई थप नोक्सानी पुर्याएको छ। धुनिबेसी नगरपालिका-९ का बिक्रम जंग रानाले पनि सोमबारको झरीले धानबालीमा क्षति पुर्याएको जानकारी दिनुभयो।
गजुरी गाउँपालिका-८ की अस्मिता ढुंगानाका अनुसार उहाँहरूको खेतमा काटेको धान पनि वर्षाले भिजाएको छ। यसले धेरै किसानलाई पिडा थपिदिएको छ। गजुरीकै सुधिर खरेलले चार दिनअघि काटेको धान भित्र्याउन नपाउँदै पानीले भिजाएर नोक्सानी भएको बताउनुभयो।
नीलकण्ठ नगरपालिका-१४, धुवांकोटका बोधपसाद नेपालले सोमबारको वर्षाले धुवांकोट लगायत अन्य धेरै क्षेत्रमा धानबालीमा ठूलो क्षति पुर्याएको बताउनुभयो। नीलकण्ठ नगरपालिका-७ को तल्लोबेसीमा धेरै किसानले काटेर राखेको धान थन्क्याउन योजना बनाएको भए पनि झरीले सबै वर्वाद पारेको स्थानीय नवराज पोखरेलले जानकारी दिनुभयो।
धादिङ जिल्लाका १३ वटै स्थानीय तहमा लगभग १३ हजार ६सय हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ। यसपटकको वर्षाले धानसँगै कोदो बालीमा पनि नोक्सानी पुर्याएको छ, जसले जिल्लाका किसानहरूको चिन्ता थपिदिएको छ। सोमबार साँझसम्म पनि वर्षा जारी रहेको हुँदा किसानहरूमा चिन्ता बढ्दै गएको छ।



