२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

क्यान महासंघका नवराज कुँवर असोसियोको उपाध्यक्षमा पुनः निर्वाचित

images

  • २०८१ कात्तिक २२, बिहीबार
  • 2.0K
    SHARES
  • क्यान महासंघका नवराज कुँवर असोसियोको उपाध्यक्षमा पुनः निर्वाचित

    काठमाडौं : कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान महासंघ)का निवर्तमान अध्यक्ष नवराज कुँवर एसियन-ओसियनियन कम्प्युटिङ इन्डस्ट्री अर्गनाइजेसन (ASOCIO) को उपाध्यक्षमा पुनः निर्वाचित भएका छन् ।

    जापानमा हालै सम्पन्न असोसियोको वार्षिक साधारणसभा तथा अधिवेशनबाट कुँवर आगामी सन् २०२४-२६ कार्यकालका लागि सो पदमा पुनः निर्वाचित भएका हुन् ।

    कुँवरले यसअघि पनि क्यान महासंघको प्रतिनिधित्व गर्दै असोसियोमा सन् २०२२ देखि उपाध्यक्षको भूमिका निभाउँदै आएका थिए भने २०२०-२२ मा सह-उपाध्यक्षको जिम्मेवारी सम्हालेका थिए । उपाध्यक्षमा पुनः निर्वाचित भएपछि कुँवरले नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गर्ने आफ्नो प्रयासलाई थप ऊर्जा मिलेको बताए ।

    कुँवरले भने, “सूचना प्रविधि क्षेत्रमा नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गर्ने प्रयास गरिरहेको छु । असोसियोमार्फत एसियाली देशहरूमा मजबुत प्रविधि प्रणाली बनाएर नेपाललाई विश्व आईसीटी क्षेत्रमा स्थान दिलाउन सकिन्छ, जसले नवप्रवर्तन, वृद्धि र अन्तर्राष्ट्रिय सहयोगका नयाँ अवसरहरू खोल्नेछ ।

    साथै, यसले एसियाका विकासशील र अविकसित देशहरूबीचको दूरीलाई पनि घटाउन मद्दत गर्ने विश्वास लिएको छु ।”

    नयाँ कार्यसमितिमा अध्यक्ष ब्रायन शेनको नेतृत्वमा जापान, थाइल्याण्ड, दक्षिण कोरिया, हङकङ, भियतनाम, मलेशिया र सिंगापुरका सूचना तथा सञ्चार प्रविधि क्षेत्रका संगठनका प्रतिनिधिहरू निर्वाचित भएका छन् ।

    क्यान महासंघका अध्यक्ष रणजीत कुमार पोदारले कुँवरलाई पुनः उपाध्यक्षमा निर्वाचित भएकोमा बधाई दिँदै कुँवरको सक्रियताले नेपालको डिजिटल अर्थतन्त्र प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

    “असोसियोमा उहाँको प्रतिनिधित्वले बदलिँदो प्रविधि र डिजिटल अर्थतन्त्रमा सबैको पहुँच एवं सूचना तथा सञ्चार प्रविधि मार्फत समृद्ध नेपाल बनाउने क्यान महासंघको प्रयासमा मद्दत पुग्ने हाम्रो विश्वास रहेको छ,” अध्यक्ष पोदारले भने ।

    त्यस्तै क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले कुँवरको नेतृत्वमा नेपालले अन्तर्राष्ट्रिय स्तरमा प्रविधिको क्षेत्रमा पहिचान बनाएको भन्दै आगामी कार्यकालमा थप उपलब्धिहरूको अपेक्षा राखे ।

    “असोसियो जस्ता अन्तर्राष्ट्रिय संस्थामा नेपालको बलियो उपस्थितिले एसियाली र ओसियनियाली देशहरूसँगको प्रविधि क्षेत्रमा सहयोगलाई सुदृढ बनाउने अवसर प्रदान गरेको छ । यसबाट नेपालले धेरै लाभ लिनेमा म विश्वस्त छु,” अधिकारीले भने । 

    क्यान महासंघ अन्य विभिन्न अन्तर्राष्ट्रिय संस्थामा समेत आवद्ध छ। हालै मात्र क्यानका अध्यक्ष रणजीत कुमार पोदार ८४ देशका सूचना तथा सञ्चार प्रविधि क्षेत्रका संस्थाहरूको छाता संगठन वर्ल्ड इन्फर्मेशन टेक्नोलोजी एण्ड सर्भिसेज एलायन्स (विट्सा-WITSA) को कोषाध्यक्षमा निर्विरोध निर्वाचित भएका थिए ।

    1000047816.jpg

     

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ