काठमाडौं : अमेरिकी राष्ट्रपति चुनावको नतिजामा डोनाल्ड ट्रम्पको जितसँगै अर्बपति उद्यमी एलन मस्कलाई ठूलो आर्थिक फाइदा पुगेको छ। ट्रम्पको जितपछि मस्कको सम्पत्ति एकै दिनमा २०.९ अर्ब डलर (करिब २८ खर्ब २५ अर्ब रुपैयाँ)ले वृद्धि भएको छ।
बुधवार मस्कको विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाको शेयर मूल्यमा १५ प्रतिशतभन्दा बढीको उछाल आयो। यसका कारण टेस्लाको कुल मूल्यांकनमा १ सय २० अर्ब डलर थपिएको छ। टेस्लाको शेयर मूल्य आकाशिएसँगै मस्कको कुल सम्पत्ति २ सय ८५.६ अर्ब डलर पुगेको छ। फोर्ब्सको अनुसार, मस्क अहिले विश्वकै धनी व्यक्तिहरूको सूचीमा शीर्ष स्थानमा छन्।
नेपाल सरकारको २०८१/८२ को बजेट १८ खर्ब ६० अर्ब रुपैयाँ रहेको छ, जसको तुलनामा मस्कको एकै दिनको सम्पत्ति वृद्धि नेपालका बजेटभन्दा ५२ प्रतिशत बढी हो।
धेरै वर्षदेखि मस्कले आफ्नो सम्पत्तिका कारण विश्वका धनाढ्यहरूको सूचीमा अग्रस्थानमा रहँदै आएका छन्। २ सय २३.५ अर्ब डलर सम्पत्तिका साथ अमेजनका मालिक जेफ बेजस दोस्रो स्थानमा छन् भने ओराकलका ल्यारी एलिसन र मेटाका मार्क जुकरबर्ग क्रमशः तेस्रो र चौथो स्थानमा छन्।
ट्रम्पको विजय पछि मस्क र उनको कम्पनी स्पेसएक्सको खुलेर प्रशंसा गरिएको छ। स्पेसएक्सले नयाँ युगमा विश्वलाई प्रवेश गराएको ट्रम्पले आफ्नो सम्बोधनमा बताएका थिए। अब ट्रम्पको विजयले मस्कलाई अटोमोबाइल, स्पेस, स्वास्थ्य, निर्माण र एआई जस्ता क्षेत्रहरूमा थप अवसरहरू दिने विश्वास गरिन्छ।



