काठमाडौँ : दोस्रो पटक अमेरिकाको राष्ट्रपति चुनिएका डोनाल्ड ट्रम्पको चर्चा जस्तै उनको उपराष्ट्रपतिका रूपमा चयन भएका जे.डी. भान्सको चर्चा पनि भइरहेको छ।
उनी अमेरिकाको इतिहासमा तेस्रो सबैभन्दा कम उमेरका उपराष्ट्रपति बनेका छन्। रिपब्लिकन पार्टीका ४० वर्षीय भान्स ओहायोका सिनेटर हुन्।
उनले ६० वर्षीय डेमोक्रेटिक उम्मेदवार टिम वाल्ट्जलाई हराए। सांसद बनेको दुई वर्षमै भान्स ट्रम्पका विश्वास पात्रको रूपमा उपराष्ट्रपतिमा चयन भएका हुन्।
सबैभन्दा कम उमेरका उपराष्ट्रपतिको कीर्तिमान जोन सी ब्रेकिनरिजको नाममा छ, जो ३६ वर्षको उमेरमा १८५७ देखि १८६१ सम्म उपराष्ट्रपति बनेका थिए।
उतार–चढावपूर्ण बाल्यकाल
भान्सको जन्म १९८४ अगष्टमा ओहायोको मिडलटाउन शहरमा भएको थियो। भान्स ६ वर्षको हुँदा उनका आमा-बुवाले छुट्टिने निर्णय गरेका थिए।
उनकी आमाले पाँच पटकसम्म बिहे गरिन्। जसले गर्दा भान्सले आफ्नो नाम धेरै पटक परिवर्तन गर्नुपर्यो। यो कठिन बाल्यकालको कथा भान्सको चर्चित पुस्तक 'हिलबिली एलेजी'मा पनि उल्लेख गरिएको छ।
सुरुमा उनको नाम जैविक पिता डोनाल्ड बोमनको नामबाट 'डोनाल्ड' राखिएको थियो। पछि आमाको तेस्रो विवाहपछि उनको नाम फेरिन थाल्यो। आमा लागुपदार्थको लतमा पर्दा जीवन कठिन भएको भान्सले बताए। पछि आमाको दुर्व्यवहारबाट बच्न उनलाई हजुरबुवा जेम्स र हजुरआमा भान्सले हुर्काए।
यसैक्रममा उनको नाम ‘जे.डी. भान्स’ राखियो। उनले मिडलटाउन हाइस्कुलबाट अध्ययन पूरा गरे र अमेरिकी नौसेनामा भर्ती भएर इराकमा सेवा गरे। उनले ओहियो स्टेट युनिभर्सिटीबाट राजनीति विज्ञान र दर्शनशास्त्रमा स्नातक गरेका छन्।
भारतीय मूलकी पत्नी
भान्सले क्याम्पस पढ्दाको साथी भारतीय मूलकी उषा चिलुकुरीसँग बिहे गरेका छन्। उनी कानुन व्यवसायमा छिन। यलल जर्नलमा कार्यकारी सम्पादक थिइन्।
उनीहरूको दुई छोरा र एक छोरी छन्। जे.डी. भान्स राजनीतिज्ञ, लेखक र व्यवसायीका रूपमा परिचित छन्।
पहिले ट्रम्पका आलोचक, अहिले निकट मित्र
उपराष्ट्रपतिका रूपमा ट्रम्पले रोजेका भान्स कुनै बेला ट्रम्पका आलोचक थिए। २०१६ को चुनावमा ट्रम्पको नीतिहरूको उनले कडा विरोध गरेका थिए।
२०१६ देखि २०२० सम्मका उनका ट्वीटमा ट्रम्पप्रतिको आलोचना देखिन्छ। तर ओहायोको सांसद पदका उम्मेदवार बनेपछि उनले ट्रम्पप्रतिको धारणा बदल्दै सबै पुराना ट्वीटहरू मेटाए। ट्रम्पले भान्सलाई समर्थन गरेपछि उनीहरूबीचको सम्बन्ध अझ प्रगाढ भएको थियो।



