काठमाडौं : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बैंकका कर्मचारी बनेर खाता नवीकरणका बहानामा ठगी गर्ने घटना बढेको भन्दै सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ।
हालैका दिनमा नक्कली खाताहरू खोल्ने र बैंकको कर्मचारी भएको दाबी गर्दै फोनमार्फत व्यक्तिगत विवरण मागेर ठगी गर्ने जस्ता घटनाहरू बढेको सीआईबीले जनाएको छ।
सीआईबीका प्रवक्ता होबिन्द्र बोगटीका अनुसार यसअघि सामाजिक सञ्जाल (फेसबुक, इन्स्टाग्राम, टिकटक, मेल, वाट्सएप, भाइबर, इमेल आदि) को माध्यमबाट चिट्ठा परेको, उपहार आएको वा पार्सल आएको जस्ता प्रलोभन देखाई ठगी गरिन्थ्यो। अहिले भने ह्याकरहरूले बैंकका कर्मचारी बनेर ग्राहकलाई ठगी गर्ने रणनीति अपनाउन थालेका छन्।
प्रवक्ता बोगटीले भने “सर्वसाधारणलाई यस्ता गतिविधिबारे थाहा पाएपछि तत्काल सीआईबीलाई खबर गर्न भनिएको छ। यसरी समयमै जानकारी आएमा आर्थिक अपराध रोक्न सकिन्छ।”
सार्वजनिक सूचनामा सीआईबीले शंकास्पद वा अपरिचित नम्बरबाट फोन आएमा आफ्नो व्यक्तिगत विवरण नदिई बैंक वा नजिकको प्रहरी कार्यालयमा जानकारी दिन अनुरोध गरेको छ।
साथै अनलाइन ठगी र बैंकिङ्ग ठगीबाट जोगिन सर्वसाधारणलाई सचेत गराउँदै बैंकले आफ्ना कर्मचारीहरूले ग्राहकबाट कहिल्यै व्यक्तिगत विवरण नमाग्ने स्पष्ट पारेको छ।
नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरका अनुसार अन्तरदेशीय आर्थिक अपराध बढ्दो अवस्थामा रहेकोले आर्थिक अपराध नियन्त्रण र अनुसन्धानका लागि ब्युरो स्थापना गर्ने पहल गरिएको छ।
प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयमा उक्त ब्युरोका लागि अवधारणापत्र समेत पेस गरिसकेको छ।



