काठमाडौं : काभ्रेको सञ्जीवनी नमुना माध्यमिक विद्यालय र ललितपुरमा अवस्थित आदर्श सौलः युवक माध्यमिक विद्यालयले स्टार रेटिङ फर स्कूल्स अवार्ड प्राप्त गरेका छन्। यो अवार्ड नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) र एआईपी फाउन्डेसनको सहयोगमा ए सेफ जर्नी टु स्कूल अभियान अन्तर्गत प्रदान गरिएको हो।
सञ्जीवनी नमुना माध्यमिक विद्यालय जो काभ्रेको धुलिखेलमा अवस्थित छ र आदर्श सौलः युवक माध्यमिक विद्यालय जो ललितपुरको भैँसेपाटीमा अवस्थित छ, यी दुवै विद्यालयलाई सुरक्षित विद्यालय यात्रा सुनिश्चित गर्नको लागि गरिएको योगदानको आधारमा स्टार रेटिङ प्राप्त भएको हो।
लण्डनस्थित इन्टरनेसनल रोड एसेस्मेन्ट प्रोग्रामको म्यानुअलमा आधारित यो रेटिङ प्रणालीले विद्यालयहरूको सडक सुरक्षा र विद्यार्थीहरूको यात्रा सुरक्षाको मूल्याङ्कन गर्दछ। सञ्जीवनी नमुना माध्यमिक विद्यालयले ४.५ स्टार रेटिङ प्राप्त गरेको छ भने आदर्श सौलः युवक माध्यमिक विद्यालयले ४.२ स्टार रेटिङ प्राप्त गरेको छ।
काठमाण्डौमा आयोजित नेशनल युथ कन्फ्रेन्स फर सेफ एण्ड सस्टेनेबल मोबिलिटी नामक राष्ट्रिय सम्मेलनमा बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेम भक्त महर्जन र नेशनल एलायन्स फर सेफ एण्ड सस्टेनेबल मोबिलिटी नेपाल का संयोजक तथा पूर्व मन्त्री योगेश भटराईले विद्यालयका प्रतिनिधिहरूलाई यो सम्मान प्रदान गरेका थिए।
सम्मेलनको उद्घाटनमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले सडक दुर्घटनाको कारण युवाहरुको अकाल मृत्युका घटनामा वृद्धि भइरहेको विषयमा सरकार चिन्तित रहेको बताएका थिए। मन्त्री चौधरीले आगामी दिनहरूमा सडक दुर्घटना कम गर्नका लागि प्रभावकारी कार्यक्रमहरू ल्याउने प्रतिबद्धता व्यक्त गरेका थिए।
यस कार्यक्रममा सेफ जर्नी टु स्कूल अभियानका संयोजक सुवाश भट्टराईले विद्यालयहरूको यात्रा सुरक्षित बनाउनका लागि गरिएका पहलहरूको महत्त्व र अन्तर्राष्ट्रिय मापदण्डको बारेमा विस्तृत प्रस्तुति दिएका थिए।
नेशनल एलायन्स फर सेफ एण्ड सस्टेनेबल मोबिलिटी का संयोजक एवं पूर्व मन्त्री योगेश भटराईको अध्यक्षतामा सम्पन्न यस सम्मेलनमा नासा नेपालका कार्यकारी निर्देशक गोबिन्द भट्टराईले सडक दुर्घटनाको बढ्दो दर र यसबाट हुने मानविय र भौतिक क्षतिलाई कम गर्न उद्देश्यसाथ कार्यक्रमको आयोजना गरिएको जानकारी दिएका थिए।
यो सम्मेलन नासा नेपालको विशेष सहयोगमा आयोजित गरिएको हो र कार्यक्रममा त्रिभुवन विश्वविद्यालय, बागमती प्रदेश संघ, राष्ट्रिय युवा परिषद लगायतका संस्थाहरूको सहकार्य रहेको छ।



