काठमाडौँ : जलवायु परिवर्तनका प्रभाव न्यूनीकरण गर्नका लागि साझेदारीमा अगाडि बढ्न नेपालले बंगलादेशलाई आग्रह गरेको छ।
अजरबैजानको बाकुमा भइरहेको संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तन सम्मेलन (कोप-२९) मा भाग लिने क्रममा नेपालका वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी र बंगलादेशका पर्यावरण, वन तथा जलवायु परिवर्तन मन्त्री स्येदा रिजवाना हसनबीच सोमबार द्विपक्षीय भेटवार्ता भएको छ।
द्विपक्षीय बैठकमा जलवायु परिवर्तनको मुद्दामा साझा एजेन्डा बनाउने आवश्यकतामा जोड दिइएको हो। मन्त्री शाहीले बंगलादेशलाई जलविद्युत् निर्यात गर्न सुरू गरिएको उल्लेख गर्दै भने "जलविद्युत् सफा ऊर्जा भएकाले जलवायु परिवर्तन न्यूनीकरणको सन्दर्भमा महत्वपूर्ण छ। भविष्यमा हाम्रो ऊर्जा सहकार्यलाई थप उचाइमा पुर्याउन हामी अग्रसर छौं।"
नेपाल र बंगलादेश बीच जलवायु परिवर्तनको विषयमा समानताहरू रहेका कारण यसमा सहकार्यको ठूलो महत्व रहेको शाहीले जोड दिएका छन्।
जलवायु परिवर्तनका मुद्दामा बंगलादेश, भुटान र नेपाल बीचको सहकार्यको पहललाई प्रगति गराउन, प्राविधिक टोलीलाई तयारी अघि बढाउन र छिट्टै मन्त्रीस्तरीय बैठकको समय तय गर्नको लागि शाहीले आह्वान गरे। उनले भने, "हाम्रो वार्ता टोलीले लामो समयदेखि सहकार्य गर्दै आएको छ र यहाँ बाकुमा पनि यसलाई निरन्तरता दिइएको छ। जलवायु विपदसँग जुध्न जलवायु वित्तको आवश्यकता र तापमान वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित गर्नु हाम्रो साझा प्राथमिकता हो।"
बाकु सम्मेलनले जलवायु वित्तको सन्दर्भमा सकारात्मक निर्णय लिने विश्वास मन्त्री शाहीले व्यक्त गरे।
बंगलादेशकी मन्त्री हसनले नेपालसँगको ऊर्जा व्यापार सम्झौतामा सहकार्यको प्रशंसा गर्दै भविष्यमा यसलाई निरन्तरता दिने आशा व्यक्त गरिन्। उनले भनिन् "यसले बंगलादेशलाई जीवाश्म इन्धनको प्रयोगलाई प्रतिस्थापन गर्दै स्वच्छ जलविद्युत् ऊर्जा प्रयोग गर्न मद्दत पुर्याउनेछ। जलवायु परिवर्तन र जलवायु वित्तका मुद्दामा सहकार्य अत्यन्त आवश्यक छ।"
दक्षिण एशियामा जलवायुजन्य हानि र नोक्सानीसम्बन्धी वार्ता क्षेत्रीय स्तरमा अघि बढाउने विषयमा पनि छलफल भएको छ। बंगलादेश, भुटान र नेपाल बीचको मन्त्रीस्तरीय बैठक छिट्टै बंगलादेशमा आयोजना गर्ने सहमति भएको छ। बैठकको मिति भने पछि तय गरिने छ।



