काठमाडौँ : दरबारमार्गमा २५ तलासहितको अन्नपूर्ण स्क्वायरको निर्माण कार्य सुरु भएको छ। यसअघि होटल अन्नपूर्ण रहेको स्थानमा भाटभटेनी समूह, लिटिल एन्जल्स र अन्नपूर्ण समूहले संयुक्त रूपमा निर्माण थाल्नुभएको हो।
सोमबार एक विशेष समारोहमा भूमि पूजा सम्पन्न गर्दै कम्पनीका अध्यक्ष मीनबहादुर गुरुङले यो परियोजना सुन्दर नेपालको सौन्दर्यको प्रतीकका रूपमा सुरु गरिएको बताएका छन्। उनी भाटभटेनी सुपरमार्केटका अध्यक्ष पनि हुन्।
अन्नपूर्ण स्क्वायर २५ तलाको हुनेछ, जसमा ९ लाख स्क्वायर फिट क्षेत्रफलमा होटल र ४० कोठाका अपार्टमेन्टहरु समावेश हुनेछन्। त्यहाँ भाटभटेनीको एक स्टोर पनि रहनेछ।
लगभग ६ अर्ब रूपैयाँको लगानीमा निर्माण थालिएको यस परियोजनामा होटलसँगै क्यासिनोको पनि सञ्चालन हुने योजना छ।



