काठमाडौं : नेपालले पहिलो पटक ‘कन्ट्री रेटिङ’ सम्पन्न गर्दै फिच रेटिङमार्फत बीबी माइनस (BB-) रेटिङ पाएको छ। यससँगै दक्षिण एसियामा ‘कन्ट्री रेटिङ’ गर्ने नेपाल छैटौं मुलुक बनेको छ। अब दक्षिण एसियामा भुटान र अफगानिस्तानले मात्र यो प्रक्रिया सम्पन्न गर्न बाँकी छ।
दक्षिण एसियामा नेपालको स्थिति
नेपालले पाएको ‘बीबी माइनस’ रेटिङ पाकिस्तान र श्रीलंकाको भन्दा राम्रो छ। दक्षिण एसियाली मुलुकहरूमा भारत, बंगलादेश र मालदिभ्सले नेपालभन्दा अघि नै रेटिङ गराइसकेका छन्।
श्रीलंकाले तीनवटा प्रमुख रेटिङ एजेन्सीहरूबाट निकै कमजोर नतिजा पाएको छ। फिचबाट ‘रेस्ट्रिक्टेड डिफल्ट (RD)’ र एसएण्डपीमार्फत ‘सेलेक्टिभ डिफल्ट (SD)’ पाएको श्रीलंकाको रेटिङ नेपालभन्दा कमजोर छ। पाकिस्तानको अवस्था पनि उस्तै छ। यसले एसएण्डपीबाट ‘CCC+’, मोड्डीसबाट ‘CAA3’ र फिचबाट ‘CCC’ पाएको छ। यी दुवै मुलुक आर्थिक संकटमा छन्।
रेटिङका आधारहरू र नेपालको सुधार सम्भावना
पूर्व बैंकर अनलराज भट्टराईका अनुसार नेपालले पहिलो पटक रेटिङ गर्दा बीबी माइनस पाउनु सकारात्मक सुरुवात हो। उनले भने “यो नेपालका लागि राम्रो मानिन्छ। आगामी रेटिङहरूमा सुधार हुने अपेक्षा गर्न सकिन्छ।”
अर्थशास्त्री ज्ञानेन्द्र अधिकारीका अनुसार यसले विदेशी लगानीकर्ताहरूलाई निर्णय लिन सहयोग पुर्याउनेछ। उनले भने “रेटिङले नेपालको आर्थिक स्थिति, विदेशी ऋण र राजनीतिक स्थिरतालाई उजागर गरेको छ। यसले लगानीकर्ताको विश्वास बढ्न सक्छ।”
ग्लोबल परिप्रेक्ष्यमा नेपालको स्थान
नेपालभन्दा कमजोर रेटिङ भएका मुलुकमा पाकिस्तान, श्रीलंका, जाम्बिया, इथियोपिया र एल साल्भाडोर रहेका छन्। भेनेजुयला र लेबनान जस्ता मुलुकहरू डिफल्ट नजिक छन्।
यद्यपि दक्षिण एसियाली प्रतिस्पर्धाभन्दा बाहिर ध्यान केन्द्रित गर्नुपर्ने अधिकारीहरूको सुझाव छ। “सिर्फ दक्षिण एसियाभित्रको प्रतिस्पर्धा होइन, अन्तर्राष्ट्रिय स्तरमा सुधारका लागि ध्यान दिनुपर्नेछ।” अधिकारीले थपे।
अर्थतन्त्र सुधारको अपेक्षा
कन्ट्री रेटिङ देशको ऋण तिर्न सक्ने क्षमताका साथै आर्थिक स्थायित्वका सूचकहरूको आधारमा गरिन्छ। नेपालले आगामी दिनमा आफ्नो आर्थिक नीति र संरचनामा सुधार गरी अझ राम्रो रेटिङ हासिल गर्ने सम्भावना छ।
यस सुरुवातलाई आधार मान्दै नेपालले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो आर्थिक क्षमताको पहिचान गराउन सफल हुने अपेक्षा गरिएको छ।



