२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

च्याउखेतीले बदल्यो भविष्य: वैदेशिक रोजगारी छाडेर मासिक १ लाख कमाउने युवा

images

  • २०८१ मंसिर १२, बुधबार
  • 956
    SHARES
  • च्याउखेतीले बदल्यो भविष्य: वैदेशिक रोजगारी छाडेर मासिक १ लाख कमाउने युवा

    काठमाडौँ : सुनसरीको बराहक्षेत्र नगरपालिका–११ का दुई युवाले च्याउखेतीबाट मनग्य आम्दानी गरिरहेका छन्। दाजु रोशन र भाइ भरत गुप्ताले २०७७ सालमा 'दाजुभाइ कृषि फर्म' दर्ता गरी गाउँमै च्याउखेती सुरु गरेका थिए। च्याउखेतीबाट अहिले उनीहरूले राम्रो आम्दानी गर्न थालेका छन्।

    रोशन गुप्ताले वैदेशिक रोजगारीमा सात वर्ष बिताएर स्वदेश फर्किएपछि च्याउखेती सुरु गरेका थिए। पहिलो वर्ष केही घाटा भए पनि पछि व्यापारले राम्रो गति लिएको उनले बताए।

    अहिले उनीहरूले ५ वटा टनेलमा च्याउ खेती गरेका छन् र यसबाट वार्षिक १२ लाख रुपैयाँको बचत गर्न सफल भएका छन्। च्याउ बजारमा थोकमा प्रतिकेजी १ सय ७० रुपैयाँ र व्यापारीलाई १ सय ५० रुपैयाँमा बिक्री गर्ने गरेको रोशनले बताए।

    उनका अनुसार च्याउ बिक्रीका लागि बजारको समस्या छैन र उत्पादन भएको च्याउ धरान, इटहरी, इनरुवा, दुहबी, गाईघाट, राजविराज, कल्याणपुर, चक्रघटी, कालाबजार, बराहक्षेत्र चतरालगायतका बजारमा पुग्छ।

    च्याउखेती सुरु गर्दा रु ५० हजारको लगानी भएको थियो, तर अहिले यो व्यापार लाखौँ रुपैयाँको भइसकेको छ। यसले परिवारका ६ सदस्यलाई रोजगार दिएको छ र थप १० जनालाई जागिर पनि दिएको छ। मासिक तलबमा काम गर्ने कामदारलाई १५ हजार रुपैयाँ र दैनिक ज्यालादारीमा काम गर्नेलाई ५ सय रुपैयाँ भुक्तानी दिइन्छ।

    च्याउखेतीमा विशेष खालको स्याहार आवश्यक पर्छ र त्यसका लागि पराल, चुन, बास, खर र प्लास्टिकको आवश्यकता पर्छ। रोशनले बताएअनुसार यस खेतीमा कुनै विषादीको प्रयोग नगरेका कारण यो स्वास्थ्यका लागि पनि राम्रो मानिन्छ र च्याउको माग बढ्दो छ। उनीहरूले दैनिक ३ सय ५० केजी च्याउ बिक्री गर्ने गरेका छन्।

    च्याउ बिक्रीको लागि साउनदेखि असोजसम्मको समय बढी उपयुक्त हुने उनको अनुभव छ। त्यस समयको मौसममा उत्पादन राम्रो हुने बताउँदै रोशनले भने “विदेशमा गएर धेरै दुःख गर्नुभन्दा स्वदेशमै थोरै मेहनत गर्दा पनि राम्रो कमाइ हुने रहेछ। अहिले विदेश जाने कुरा सोच्न पनि सकिँदैन।”

    च्याउ खेतीका लागि उनले गत वर्ष सुनसरी कृषि ज्ञान केन्द्रबाट एक लाख रुपैयाँको अनुदान प्राप्त गरेका थिए भने यस वर्ष बराहक्षेत्र नगरपालिकाबाट ९० हजार रुपैयाँ अनुदान प्राप्त गरेका छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ