काठमाडौँ : काभ्रेको बनेपा नगरपालिका–१३, साँगा चोकबाट ५ सय ५८ ग्राम सुनसहित दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा रोशी गाउँपालिका–९ निवासी ३८ वर्षीय बसन्त लामा र रामेछाप मन्थली नगरपालिका–१ निवासी २९ वर्षीय अमृत श्रेष्ठ रहेका छन्।
जिल्ला प्रहरी कार्यालय काभ्रेको टोलीले आइतबार साँझ उनीहरूलाई पक्राउ गरेको हो। काठमाडौंबाट बनेपातर्फ जाँदै गरेको बीएबी ८६०८ नम्बरको कार जाँच गर्दा, सिटमुनी प्लास्टिकको झोलामा लुकाइएको अवस्थामा सुन फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ परेका व्यक्तिहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। सुन ओसारपसारको कारण र स्रोतबारे प्रहरीले अनुसन्धान अगाडि बढाएको छ।



