काठमाडौँ : प्रत्येक बिहान ८ बजे घरबाट धरानको माछाभौडी गल्ली पुग्ने मनका शाहीको दिनचर्या सिद्रा बिक्री गर्नमै बित्छ। बेलुकी ६ बजेसम्म व्यापारमा व्यस्त हुने शाही बताउँछिन्। जाडो सुरु भएसँगै सिद्राको माग र व्यापार उल्लेखनीय रूपमा बढेको छ।
“गर्मीभन्दा जाडोमा सिद्राको व्यापार राम्रो हुन्छ।” उनले भनिन्। सिद्रा बेच्न थालेको २० वर्षको अनुभव संगालेकी शाहीले मेहनत अनुसार राम्रै आम्दानी हुने बताइन्।
सिद्राको मूल्य प्रति किलो रु ६ सयदेखि रु १ हजार २ सयसम्म पर्ने गरेको छ। उनले भनिन् “महिनाको खर्च कटाएर रु ४० हजारसम्म बचत हुन्छ, यसमा म सन्तुष्ट छु।” धरानको भानुचोकबाट पूर्वतर्फ रहेको माछाभौडी गल्लीमा सिद्रा बेच्ने धेरै व्यापारी लस्करै देख्न सकिन्छ। टाढा–टाढाबाट सिद्रा किन्न आउने ग्राहकहरूको संख्याले व्यापारलाई थप चलायमान बनाएको छ।
विगत ३३ वर्षदेखि सिद्राको व्यापार गर्दै आएका धरान उपमहानगरपालिका–३ का प्रेम श्रेष्ठले पनि जाडोमा सिद्राको व्यापार फस्टाउने बताए। उनका अनुसार कात्तिकदेखि फागुनसम्म सिद्राको व्यापार उच्च हुने गर्छ।
“मैले १२ भन्दा बढी प्रकारका सिद्रा बिक्री गर्छु।” उनले बताए। पटासी, चेला, वामना, जुँगे, सुन्दरी, टेग्ना, बरेल, चलवा, झिंगे, बुलवा जस्ता प्रजातिका सिद्रा उनले बेच्छन्।
श्रेष्ठका अनुसार सिद्रा धेरैजसो अचार र तरकारी बनाएर खाने चलन छ। यही व्यापारबाट उनले घरखर्च धानेका र छोराछोरीको स्कुल ‘फि’ समेत तिरेका छन्। “नेपालमा पर्याप्त खोलानाला भए पनि सिद्रा उत्पादन सीमित हुने भएकाले भारतबाट ल्याएर बेच्नुपर्छ।” उनले भने।
श्रेष्ठले वर्षमा २० क्विन्टलभन्दा बढी सिद्रा बिक्री गर्ने बताए। साउनदेखि असोजसम्म नेपालमै उत्पादन भएको सिद्रा बेच्ने गरे पनि बाँकी समय भारतबाट ल्याउनुपर्ने बाध्यता रहेको उनले उल्लेख गरे।
धरानका होटलहरूमा अचार बनाउन सिद्राको प्रयोग हुने गर्छ। त्यस्तै, ग्राहकहरूले सिद्रालाई आफन्तलाई कोसेलीका रूपमा लैजाने गरेको श्रेष्ठले बताए। जाडोमा सिद्राको झोल बनाएर खाने चलन पनि लोकप्रिय छ।
धरानमा शाही र श्रेष्ठजस्ता एक दर्जनभन्दा बढी सिद्राको व्यापारी सक्रिय छन्। पछिल्लो समय महिला व्यवसायीको संख्यामा पनि वृद्धि भएको छ, जसले सिद्रा व्यापारलाई थप उचाइमा पुर्याइरहेका छन्।



