कात्तिक २०, काठमाडौं : नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ल्याउँदै छ। एमडीएमएस आजदेखि पूर्ण कार्यान्वयनमा आउने र प्रणालीमा दर्ता नभएका मोबाइलमा दूरसञ्चार सेवा बन्द गर्न शुरु गर्ने प्राधिकरणले जनाएको छ।
आज राति ९ बजेदेखि केही महँगा मोबाइलमा सेवा बन्द गरेर यसको कार्यान्वयन थाल्ने प्राधिकरणको तयारी छ। अहिलेसम्म एमडीएमएसमा दर्ता नगरि चलाएका आईफोन १५ सिरिजका झण्डै २५ सय वटा सेटमा आजदेखि दूरसञ्चार सेवा बन्द गर्ने प्राधिकरणले जनाएको छ।
एमडीएमएसमा दर्ता नभएका मोबाइलमा टेलिफोन र भ्वाइस सेवा तथा मोबाइल डेटा र इन्टरनेट सेवा प्राधिकरणले रोकिदिन सक्छ। एमडीएमएसमा दर्ता नभएकामध्ये सुरुमा महँगा फोन नचल्ने बनाउने र बिस्तारै अन्य मोबाइललाई नचल्ने बनाइने प्राधिकरणले जनाएको छ।
प्राधिकरणले यहि ४ कात्तिकमा एक सूचना निकाल्दै एमडीएमएसमा दर्ता नभएका मोबाइल १५ दिनपछि नचल्ने जानकारी गराएको थियो। उक्त प्रणालीमा दर्ता नभएका फोनमा दूरसञ्चार सेवा अवरुद्ध हुने प्राधिकरणले स्पष्ट पारिसकेको छ।
त्यसो त यसअघि पनि प्राधिकरणले पटक पटक एमडीएमस लागू गर्ने सम्बन्धमा म्याद थप गरेपनि पूर्ण रूपमा यो प्रणाली कार्यान्वयनमा आउन सकेको थिएन। सोही सन्दर्भका कारण कतिपयले अझै पनि दर्ता नभएका मोबाइल नचल्ने प्राधिकरणको सूचनालाई गम्भीरताका साथ लिने गरेका छैनन्।
तपाईंको मोबाइल एमडीएमएसमा दर्ता छ कि छैन, यदि छैन भने दूरसञ्चार प्राधिकरणको वेबसाइटमा गएर नि:शुल्क दर्ता गराउन सकिन्छ।



