काठमाडौं : सूचना प्रविधि क्षेत्रमा उल्लेखनीय योगदानका लागि नेपाल बैंककी बन्दना शर्माले यो वर्षको ‘एनसेल वुमन आइकन आईसीटी अवार्ड’ प्राप्त गरेकी छिन्।
कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेल र एनसेलकी कर्पोरेट कम्युनिकेसन एन्ड सीएसआर प्रमुख विशाखालक्ष्मी खड्काले संयुक्त रूपमा शर्मालाई अवार्ड प्रदान गरेका हुन्। यस अवार्डसँगै शर्माले तीन लाख रुपैयाँ नगद पुरस्कारसमेत प्राप्त गरेकी छिन्।
बन्दना शर्मा २००६ देखि नेपाल बैंकमा कार्यरत छिन्। बैंकमा आईटी सपोर्ट अफिसरका रूपमा प्रवेश गरेकी उनी हाल कार्ड तथा डिजिटल बैंकिङ डिभिजनको नेतृत्व गर्दै डिजिटल प्रविधिमा बैंकको रूपान्तरणमा सक्रिय भूमिका निर्वाह गरिरहेकी छिन्।
उनले बैंकको कोर बैंकिङ सिस्टम, नेटवर्क सुरक्षा तथा साइबर सुरक्षामा प्रभावकारी सुधार गर्न महत्वपूर्ण योगदान पुर्याएकी छिन्। साथै डिजिटल सेवाहरूलाई ग्राहकमैत्री बनाउन उनले नेतृत्वदायी भूमिका निभाएकी छन्।
यसअघि यो अवार्ड क्रमशः सुनैना घिमिरे पाण्डे (२०२३), शिला कंसाकार कार्की (२०२२), गुणकेशरी प्रधान (२०२१) र तिमिला यमी (२०२०) ले प्राप्त गरेका थिए।



