२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

चितवनको मेघौलीमा राष्ट्रिय रैथाने खाना महोत्सव शुक्रबारदेखि सुरु

images

  • २०८१ पुस ११, बिहीबार
  • 1.6K
    SHARES
  • चितवनको मेघौलीमा राष्ट्रिय रैथाने खाना महोत्सव शुक्रबारदेखि सुरु

    काठमाडौँ : चितवनको मेघौलीमा यही पुस १२ गतेदेखि १६ गतेसम्म राष्ट्रिय रैथाने खाना महोत्सव आयोजना गरिने भएको छ। भरतपुर भ्रमण वर्ष २०२४ को वार्षिकोत्सवका अवसरमा महोत्सव आयोजना गर्न लागिएको हो।

    महोत्सव मेघौलीस्थित जानकी माविको प्रांगणमा हुनेछ। महोत्सव संयोजक मायाराम चौधरीका अनुसार महोत्सवमा ५० वटा स्थानीय खानाका स्टलसहित थारु, कुमाल, बोटे जस्ता समुदायका परम्परागत शैलीका १० घर पनि प्रदर्शनीमा राखिने छन्।

    महोत्सवमा थारु, कुमाल, दराई, मगर, गुरुङ, बोटे, मुसहर लगायतका समुदायद्वारा तयार पारिएका रैथाने खानाका परिकारहरु उपलब्ध हुनेछन्। हाँस र कुखुराको मासु, घोँगी, चिचर, माछा जस्ता विशिष्ट परिकार पर्यटकका लागि आकर्षण बन्ने छन्।

    सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम

    महोत्सवको आकर्षणमा राष्ट्रिय तथा स्थानीय कलाकारको सांगीतिक प्रस्तुति, थारु र कुमाल जातिका सांस्कृतिक नृत्य तथा विभिन्न समुदायका परम्परागत प्रदर्शनहरु रहेका छन्।

    पर्यटन प्रवर्द्धन र आर्थिक टेवा

    संयोजक चौधरीले खाना महोत्सवले स्थानीय जातजातिका परम्परागत खानाका बारेमा जानकारी गराउनाका साथै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा योगदान पुग्ने विश्वास व्यक्त गरे। ६१ लाख खर्च अनुमान गरिएको महोत्सवमा १ लाखभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ।

    भरतपुर महानगरपालिका वडा नम्बर २७ र २८, होटल व्यवसायी संघ चितवन, मेघौली पर्यटन विकास समिति, मेघौली उपभोक्ता समिति र चितवन गोलाघाट पर्यटन विकास समिति महोत्सवका आयोजक हुन्।

    विशेष आकर्षण

    महानगर उपप्रमुख चित्रसेन अधिकारीले महोत्सवमा स्थानीय परिकारसँगै ७७ जिल्लाको प्रतिनिधित्व गर्ने ७७ मिटर लामो नेपालको नक्सा प्रदर्शनीमा राखिने जानकारी दिए।

    भ्रमण वर्षको निरन्तरता

    भरतपुर महानगर प्रमुख रेनु दाहालका अनुसार भ्रमण वर्षको सफलताले यस प्रकारका महोत्सवहरु आयोजना गर्न प्रेरणा दिएको छ। उनले भनिन्, "भरतपुर भ्रमण वर्षले यहाँका पर्यटकीय क्षेत्रलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न ठूलो भूमिका खेलेको छ।"

    महानगर प्रमुख दाहालले भ्रमण वर्षको अवधिमा लक्ष्यभन्दा बढी आन्तरिक र बाह्य पर्यटक भित्रिएको बताइन्। दीगो पर्यटन विकासका लागि पूर्वाधार विस्तार, होटल तथा रेष्टुरेन्ट सेवामा सुधार र पर्यटकको बसाइ अवधिको वृद्वि महत्त्वपूर्ण उपलब्धी भएको उनले उल्लेख गरिन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ