काठमाडौँ : सर्केगाड गाउँपालिका-१ तुम्च गाउँका नागरिकले अनुदानमा उपलब्ध नौ रुपैयाँको नुन किन्नका लागि दुई हजार पाँच सय रुपैयाँसम्म खर्च गर्नुपर्ने बाध्यता भोगिरहेका छन्। नुन वितरण केन्द्र गाउँभन्दा निकै टाढा रहेकाले गाडी भाडा र अन्य खर्चले नुन महँगो पर्न गएको हो।
स्थानीय रामशरण रावतका अनुसार नुन किन्नका लागि डिपो पुग्न र फर्कन मात्र २५ सय रुपैयाँ खर्च हुन्छ। साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले बिक्री गर्ने अनुदानको नुन लिनका लागि पालिका केन्द्रसम्म पुग्नुपर्ने र गाडीमा यात्रा गर्दा ठूलो रकम खर्चिनु पर्ने उनले बताए।
रतन रावतले भने ‘गाउँभन्दा पालिका केन्द्र निकै टाढा छ। एक दिनको पैदल दूरीमा पर्ने स्थानमा गाडीमा आवतजावत गर्दा २५ सय रुपैयाँसम्म लाग्छ। यस्तो अवस्थामा ९५ घरधुरीले समस्या झेल्नु परिरहेको छ।’
तुम्च गाउँका नागरिकले नुन सिधै बालुकुना क्षेत्रबाट वितरण गरियो भने सहज हुने र खर्च पनि बच्ने सुझाव दिएका छन्। गाउँपालिकाको कार्यालय टाढा भएका कारण अन्य सेवा सुविधा लिन जाँदा पनि समय र खर्च दुवै बढी लाग्ने उनीहरुको गुनासो छ।
साल्ट ट्रेडिङ कर्पोरेसन शाखा हुम्लाका प्रमुख राजबहादुर लामाका अनुसार दक्षिण भेगका चार गाउँपालिकाका लागि पहुँचयुक्त स्थानबाट नुन वितरण गर्ने व्यवस्था गरिएको छ। उनले भने, ‘चंखेली र सर्केगाड गाउँपालिकाका लागि सर्केगाड डिपोबाट नुन वितरण गरिन्छ। बालुकुनामा केही समय नुन वितरण गरिएको भए पनि स्थायी रूपमा त्यहाँ व्यवस्था गर्न कठिन छ।’
यो आर्थिक वर्षमा दक्षिण भेगका चारवटा गाउँपालिकाका लागि १८ सय क्विन्टल नुन ढुवानी गरिनेछ। जसअनुसार सर्केगाड र अदानचुलीका लागि पाँचसय- पाँचसय, चंखेली र ताँजकोटका लागि चारसय-चारसय क्विन्टल नुन पुर्याइने योजना रहेको लामाले जानकारी दिए।
स्थानीयले भने वितरण प्रणालीमा सुधार गरी टाढा रहेका गाउँका नागरिकको समस्या समाधान गर्न आग्रह गरेका छन्।



