काठमाडौँ : कैलालीको कर्णाली चिसापानीमा निर्माण हुने जालपादेवी केबलकार परियोजनाको शिलान्यास शनिबार सम्पन्न भएको छ। लम्की चुहाँ नगरपालिका-३ स्थित कर्णाली चिसापानीमा परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले यो परियोजनाको शिलान्यास गरेकी हुन्। ३.१ किलोमिटर लामो यो केबलकार परियोजना आइएमई ग्रुपको लगानीमा निर्माण हुँदैछ, जसको कुल लागत ५ अर्ब रुपैयाँ छ।
शिलान्यास कार्यक्रममा परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले परियोजनाले सुदूरपश्चिम प्रदेशको आर्थिक, सामाजिक, र सांस्कृतिक विकासमा ठुलो योगदान दिने बताइन्। उनले सुदूरपश्चिम क्षेत्र पर्यटन, संस्कृति र जैविक विविधतामा धनी रहेको भन्दै यो परियोजनाले उक्त क्षेत्रको पर्यटनमा नयाँ सम्भावना थप्ने विश्वास व्यक्त गरिन्।
उनले भनिन् “सुदूरपश्चिम प्रदेशका नागरिकहरू विकासप्रेमी छन्। यो केबलकार परियोजनाले मात्र होइन, यससँगै निर्माण हुने होटल तथा अन्य पर्यटकीय पूर्वाधारले सुदूरपश्चिम र समग्र देशको समृद्धिमा ठुलो भूमिका खेल्नेछ।”
वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले पनि केबलकार परियोजनाले पश्चिम नेपालमा आवश्यक भौतिक विकासको अभाव पूरा गर्ने बताए। उनले परियोजना समयमै सम्पन्न गर्न सबै सरोकारवालालाई सहयोग गर्न आग्रह गरे।
यसैगरी, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले केबलकार परियोजनाले धार्मिक, साहसिक र मनोरञ्जन पर्यटनलाई प्रवर्द्धन गर्ने बताउँदै प्रदेश सरकारले यसका लागि पूर्ण सहयोग गर्ने आश्वासन दिए।
परियोजनामा ३४ वटा गोन्डोला रहनेछन्, जसले लम्की चुहाँ नगरपालिका-३ को चिसापानीदेखि मोहन्याल गाउँपालिका-७ राजकाँडासम्मको दुरी तय गर्नेछ। बटम स्टेशनमा केबलकार, होटल, क्यासिनो र बैंक्वेट हल निर्माण हुनेछ भने टप स्टेशनमा रिसोर्ट, मन्दिर, स्काई वक, वकिङ ट्रेल, रेष्टुरेन्ट र बाल उद्यान जस्ता पर्यटकीय पूर्वाधार निर्माण गरिनेछ।
आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटन पूर्वाधारले नेपालको आर्थिक रूपान्तरणमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउँदै यो परियोजनाले सुदूरपश्चिम क्षेत्रका लागि उदाहरणीय भूमिका निर्वाह गर्ने बताए।
उनले भने, “पर्यटन पूर्वाधारमा लगानीले रोजगारी सिर्जना गर्न, विदेशी मुद्रा आर्जन गर्न र आर्थिक समृद्धि हासिल गर्न मद्दत पुर्याउँछ। जालपादेवी केबलकारले यो सम्भावनालाई मूर्त रूप दिनेछ।”
यो परियोजनाले स्थानीय समुदायको विकास, पर्यटन प्रवर्द्धन र रोजगारी सिर्जनामा योगदान पुर्याउने अपेक्षा गरिएको छ। आइएमई ग्रुपले यसअघि चन्द्रागिरि लगायत नेपालका अन्य क्षेत्रमा केबलकार परियोजनाको सफल कार्यान्वयन गरेको छ, जसले यो परियोजनाको समयमै सम्पन्न हुने विश्वास दिलाएको छ।



