काठमाडौँ : सगरमाथा आरोही तथा फोटो पत्रकार पूर्णिमा श्रेष्ठ सिएनएनको ‘साहसी खेलाडी’ (द एक्स्ट्रिम एथलेट्स हु पुस्ट लिमिट इन २०२४) सूचीमा चयन हुन सफल भएकी छिन्।
पूर्णिमाले सिएनएनको यो प्रतिष्ठित सूचीमा आफ्नो नाम परेकोमा गौरवान्वित महसुस गर्दै सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गरेकी छन्। उनले भनेकी छिन्, "सन् २०२४ मेरो जीवनको ऐतिहासिक वर्ष रह्यो। यसै वर्ष म एउटै आरोहण याममा तीन पटक सगरमाथा आरोहण गर्ने संसारकै पहिलो महिला बन्न सफल भएँ।"
पूर्णिमाले यो उपलब्धि हासिल गर्न र प्रेरणा दिने परिवार, साथीभाइ र सम्पूर्ण सहयोगीलाई धन्यवाद दिँदै सन् २०२५ थप नयाँ उचाइहरू हासिल गर्ने वर्ष बन्ने शुभकामना व्यक्त गरेकी छिन्।
यस वर्षको वसन्त ऋतुमा पूर्णिमाले मे १२, १९ र २५ तारिखमा लगातार तीन पटक सगरमाथा आरोहण गरेर विश्वकै पहिलो महिला आरोहीको कीर्तिमान कायम गरेकी थिइन्। साथै, उनी धौलागिरि हिमाल आरोहण गर्ने पहिलो नेपाली महिला पनि हुन्।
उक्त साहसी उपलब्धिका कारण पूर्णिमाले अन्तर्राष्ट्रिय तहमा नेपाली महिला आरोहीको क्षमताको पहिचान गराउँदै नेपाललाई गौरवान्वित बनाएकी छिन्।



