काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले तमु ल्होसारका अवसरमा शुभकामना सन्देश दिएका छन्।
सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै प्रधानमन्त्रीले भनेका छन्, “तमु ल्होसार सम्झँदा शिरमा शिरबन्दी, शरीरमा मखमली चोली, घलेक, पटुकी, छिटको गुन्यु लगाएर मजेत्रो ओढी घाटु, सोरठी र कौडा नाचिरहेका गुरुङ महिलाहरू र भोटोमाथि भाङ्ग्रो लगाएर पटुकी र कछाड बाँधेर नाचिरहेका पुरुषहरूको झल्झली सम्झना आउँछ।”
प्रधानमन्त्रीले नेपाल विविध संस्कृतिले सम्पन्न देश रहेको उल्लेख गर्दै भनेका छन्, “संस्कृतिमा हामी नेपाली धेरै धनी छौँ।”
सोमबार गुरुङ समुदायको प्रमुख पर्व तमु ल्होसार स्वदेश तथा विदेशमा उत्साहका साथ मनाइँदैछ। पुस १५ गतेको रात वर्षभरिका रातहरूमध्ये सबैभन्दा लामो हुने र त्यसपछि क्रमशः रात घट्दै जाने भएकाले यो पर्वलाई विशेष महत्वका साथ मनाइने प्रचलन छ।
तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ।



