काठमाडौँ : आजको युगमा डिजिटल उपकरणको प्रयोग मानिसको दैनिकीको अभिन्न अंग बन्दै गएको छ। इन्टरनेट र सामाजिक सञ्जालको उपयोगले मानिसको जीवनलाई सजिलो बनाएको भए पनि, पछिल्लो समय यसले धेरै समस्या पनि निम्त्याएको छ। विशेष गरी, युवापुस्तामा डिजिटल उपकरणहरूको अत्यधिक प्रयोगले मानसिक, शारीरिक र स्वास्थ्य समस्याहरू देखा पर्न थालेका छन्। लामो समयसम्म स्क्रिनमा बिताउने बानीले डिप्रेसन र एन्जाइटीको जोखिम बढाएको छ। जसलाई "डिजिटल डिप्रेसन" पनि भनिन्छ।
सामाजिक सञ्जालको उदयसँगै, इन्टरनेटमा सामग्रीको व्यापकता बढेको छ। फेसबुक, इन्स्टाग्राम, टिकटकजस्ता प्लेटफर्मले मानिसको सोच, बुझाइ र व्यवहारमा गहिरो प्रभाव पारेका छन्। युवा वर्गमा यो प्रभाव विशेष रूपमा देखिएको छ। जसले उनीहरूलाई छिटो सफल हुने हतारोमा पार्ने गरेको छ। साथीभाइ र समाजमा देखिएको जीवनशैलीसँग तुलना गर्दा आफूलाई पछाडि परेको महसुस गर्ने प्रवृत्ति बढेको छ । जसले नैराश्य र आत्मविश्वासको कमी ल्याउन सक्छ।
डिजिटल दुनियाँले मानिसलाई बाहिरी संसारबाट अलग गर्दै जाने हुँदा मानसिक समस्याहरू पनि देखिने गरेका छन्। लामो समयसम्म एक्लोपन महसुस गर्दा डिप्रेसनको जोखिम बढ्ने सम्भावना हुन्छ। नेपालमा हालैको एक प्रतिवेदन अनुसार गत आर्थिक वर्षमा ७ हजार २ सय २३ जनाले आत्महत्या गरेका छन्। जसमा डिजिटल क्षेत्रमा भएको अत्यधिक संलग्नताको पनि भूमिका हुनसक्छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार १० देखि १९ वर्षका किशोरकिशोरीहरूमा मानसिक स्वास्थ्य समस्याको जोखिम उच्च छ। जसमा डिजिटल उपकरणको लत पनि एक कारण हो।
युवावस्था जीवनको महत्वपूर्ण समय हो। जसमा उनीहरूको मानसिक, सामाजिक र भावनात्मक अवस्थाले भविष्यको निर्धारण गर्छ। मुलुकको भविष्यसमेत युवामा निर्भर छ। यसै कारणले डिजिटल दुनियाँको कुलतबाट युवालाई टाढा राख्न र उनीहरूलाई जिम्मेवार बनाउन आवश्यक छ। यसका लागि अभिभावक, समाज र सरकारको भूमिका महत्वपूर्ण हुन्छ। सामाजिक सञ्जालको नियमन, डिजिटल उपकरणको उपयोगबारे सचेतना र रोजगारीको सिर्जनाबाट युवालाई देश विकासमा सहभागी गराउनुपर्ने आवश्यकता छ।
डिजिटल उपकरण र सामाजिक सञ्जालका फाइदा र बेफाइदा दुवै छन्। सूचना आदानप्रदान, अध्ययन-अध्यापन, र सम्बन्धलाई नजिक राख्न यसले सहयोग पुर्याउँछ। तर, यसको अत्यधिक प्रयोगले नकारात्मक असर पनि पर्न सक्छ। विज्ञान र प्रविधिको उपलब्धिलाई सकारात्मक रूपमा प्रयोग गर्न सक्यौँ भने यसले वरदानको काम गर्नेछ। तर यसको दुरुपयोगले यसलाई अभिशाप बन्न सक्छ।



