काठमाडौँ : नेपाल भौगोलिक बनावट र जलवायु परिवर्तनका कारण प्राकृतिक विपद्को उच्च जोखिममा रहेको मुलुक हो । विपद् जोखिमका आधारमा नेपाल भूकम्पतर्फ विश्वकै ११औँ र बाढी–पहिरोका हिसाबले १६औँ स्थानमा पर्दछ। ऐतिहासिक कालदेखि नै ठूला–ठूला भूकम्प, बाढी, पहिरो र आगलागीका घटनाले नेपालमा हजारौँ नागरिकको ज्यान लिनुका साथै अर्बौँ रुपैयाँको भौतिक सम्पत्ति नष्ट गर्दै आएका छन्।
भूकम्पको ऐतिहासिक विनाश :
नेपालमा अभिलेख राखिएको पहिलो भूकम्प विक्रम संवत् १२८० (सन् १२२३) को हो, जसमा राजा अभय मल्लको समेत निधन भएको थियो। त्यसपछि वि.सं. १८९० को भूकम्पले उपत्यकाका धेरै ऐतिहासिक मन्दिर र संरचनाहरू ढालेको थियो।
तर, नेपालको इतिहासकै सबैभन्दा विनाशकारी भूकम्पका रूपमा १९९० माघ २ गते गएको ८.४ म्याग्निच्युडको महाभूकम्पलाई लिइन्छ। सो भूकम्पमा परी नेपालमा मात्रै ८ हजार ५ सय १९ जनाले ज्यान गुमाएका थिए।
आधुनिक समयमा २०७२ वैशाख १२ गते गएको ७.८ म्याग्निच्युडको गोरखा भूकम्पले ९ हजार ५३ जनाको ज्यान लियो भने २२ हजारभन्दा बढी घाइते भए। सो भूकम्पबाट प्रसिद्ध धरहरा र विश्व सम्पदा सूचीमा सूचीकृत धेरै ऐतिहासिक धरोहरहरू ध्वस्त भए।
पछिल्ला वर्षहरूमा पनि भूकम्पको जोखिम कायमै छ। २०७९ कात्तिक २२ गते डोटीमा गएको ६.६ म्याग्निच्युडको भूकम्पमा ६ जना र २०८० कात्तिक १७ गते जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा १ सय ५० भन्दा बढी नागरिकको ज्यान गएको थियो।
जलविपद् र बाढी–पहिरोको वितण्डा :
जलविपद्का हिसाबले नेपालमा २०५० सालमा कुलेखानी क्षेत्रमा भएको मुसलधारे वर्षा र त्यसपछिको बाढीपहिरोमा परी १ हजार ३ सय ३६ जनाको मृत्यु भएको घटनालाई बाढीबाट भएको एकैपटकको ठूलो क्षतिका रूपमा लिइन्छ।
त्यस्तै, २०६५ भदौ २ गते सप्तकोशीको बाँध भत्किँदा सुनसरीका कुशाहा, श्रीपुरजब्दी, हरिपुर र लौकहीलगायत गाउँहरू डुबानमा परी ७ हजारभन्दा बढी परिवार विस्थापित भएका थिए। २०७१ सालमा सिन्धुपाल्चोकको जुरेमा विशाल पहिरोले सुनकोशी नदी थुनिँदा १ सय ५६ जनाको ज्यान गएको थियो।
हालैका वर्षहरूमा २०७८ असार १ गते सिन्धुपाल्चोकको मेलम्ची नदीमा आएको गेग्रानसहितको बाढीले मेलम्ची बजारलाई तहसनहस बनाउनुका साथै खानेपानी आयोजनामा ठूलो क्षति पुर्याएको थियो। २०८१ साउन ३२ गते सोलुखुम्बुको थामेमा हिमताल विस्फोट भई आएको बाढीले करोडौँको क्षति पुर्यायो। त्यसै गरी २०८१ असोजमा देशभर भएको भारी वर्षा र बाढीपहिरोमा परी २४९ जनाभन्दा बढीले ज्यान गुमाएका थिए भने ४६ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको थियो।
हालै २०८३ भदौ १० गते नेपाल-चीन सीमा क्षेत्रमा हिमपहिरो र चट्टान खसेर भोटेकोशी नदीमा आएको आकस्मिक भीषण बाढीलाई विज्ञहरूले नेपालको इतिहासकै ठूलो बाढीका रूपमा उल्लेख गरेका छन्, जसमा ७ सयभन्दा बढीको मृत्यु भइसकेको छ भने सयौँ बेपत्ता छन्।
विगत एक दशकको कारुणिक तथ्याङ्क :
गृह मन्त्रालय तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्कअनुसार विगत एक दशक (२०७२ वैशाखदेखि २०८१ चैतसम्म) को अवधिमा मुलुकभर विपद्का कुल ४२ हजार ८ सय ७२ वटा साना-ठूला घटनाहरू भएका छन्।
मानवीय क्षति :
विपद्का घटनामा परी १४ हजार ४२ जनाले ज्यान गुमाएका छन्, ६ सय १० जना बेपत्ता छन् भने ३६ हजार ९ सय ९१ जना घाइते भएका छन्।
भौतिक क्षति : यस अवधिमा ८ लाख २४ हजार भन्दा बढी घरहरू पूर्ण रूपमा ध्वस्त भएका छन् भने ३ लाख ७९ हजार ३ सय ५ घरहरूमा आंशिक क्षति पुगेको छ।
आगलागी र डढेलो : १० वर्षमा आगलागीका २५ हजार ७ सय १९ वटा घटनामा ८ सय ३५ जनाको मृत्यु हुनुका साथै करिब २३ अर्ब ८६ करोड रुपैयाँ बराबरको क्षति भएको छ। डढेलोका १ हजार ९ सय ७८ वटा घटनामा ३० जनाको ज्यान गएको छ।
मौसमजन्य तथा जैविक विपद् : चट्याङबाट ७ सय ९१ जना, हावाहुरीबाट १ सय २ जना र वन्यजन्तुको आक्रमणबाट २ सय ८४ जनाको मृत्यु भएको छ। यसबाहेक २०७६ देखि फैलिएको कोभिड-१९ महामारीका कारण नेपालमा १२ हजार ३१ जनाले ज्यान गुमाएका थिए।
विपद्को यस शृङ्खलाले नेपालमा विपद् पूर्वतयारी, द्रुत उद्धार, र दिगो पुनर्निर्माणको संरचनालाई अझ मजबुत र प्रभावकारी बनाउनुपर्ने टड्कारो आवश्यकता औँल्याएको छ।