कात्तिक २१, काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल आज भूकम्प प्रभावित क्षेत्रको अवलोकनका लागि जाँदै हुनुहुन्छ। शुक्रबार राति जाजरकोट केन्द्रविन्दु बनाएर गएको शक्तिशाली भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ठूलो जनधनको क्षति गरेको छ। जाजरकोट आसपासका जिल्लाहरूमा पनि भौतिक क्षति पुगेको छ।
राष्ट्रपति पौडेल आज जाजरकोट र रुकुम पश्चिम जाने भएका हुन्। राष्ट्रपति पौडेल भूकम्पपछिको अवस्था बुझ्न नेपाली सेनाको हेलिकप्टरमा जाजरकोट र रूकुम पश्चिम जान लागेका हुन्। जाजरकोट भूकम्पमा परी हालसम्म १५७ जनाको मृत्यु र तीन सयभन्दा धेरै घाइते छन्।
घाइतेहरूको जिल्लाका अस्पताल, सुर्खेत, नेपालगञ्ज र काठमाडौंमा उपचार भइरहेको छ। भूकम्प गएपछि सुरुमा बचाउमा केन्द्रित भएको राहत तथा उद्धार टोली अब राहत वितरणमा केन्द्रित भएको छ।
भूकम्पकै कारण उनले पूर्वनिर्धारित युरोप भ्रमणसमेत स्थगित गरेका थिए। यसअघि हिजो राष्ट्रपतिले भोलिदेखि तय भएको फ्रान्स, इटली र जर्मनीको भ्रमण स्थगित गरेका थिए। विनाशकारी भूकम्पजस्तो प्राकृतिक विपत्ति आइपरेका बेला मुलुक छाड्न उपयुक्त नहुने निष्कर्षसहित राष्ट्रपति पौडेलले भ्रमण स्थगित गरेका थिए।



