काठमाडौँ : भारत र चीनबीचको सम्बन्धमा सुधारको संकेतस्वरूप दुई देशबीचको सीधा हवाई सेवा पुनः सुरु भएको छ। सोमबार कोलकाताबाट उडेको इन्डिगोको उडान 6E 1703 करिब १८० यात्रु लिएर चीनको दक्षिणी सहर ग्वाङ्झाउमा सफलतापूर्वक अवतरण गर्यो।
कोभिड–१९ महामारीका कारण सन् २०२० मा स्थगित गरिएको यो सेवा त्यसपछिका सीमा विवादका कारण लामो समयसम्म पुनः सुरु हुन सकेको थिएन। तर पछिल्लो समय दुई देशले सम्बन्ध सुधारतर्फ कदम चालेका छन्। गत वर्ष सीमा गस्तीसम्बन्धी सम्झौता र उच्चस्तरीय भ्रमणहरूले द्विपक्षीय सम्बन्धमा सकारात्मक संकेत देखिएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सात वर्षपछि चीन भ्रमण गरेका थिए भने चिनियाँ विदेशमन्त्री वाङ यी पनि भारत आएका थिए। भारतले चिनियाँ पर्यटकहरूका लागि भिसा जारी प्रक्रिया पुनः सुरु गरेको छ।
कोलकाता विमानस्थलमा आइतबार साँझ इन्डिगोका कर्मचारीहरूले उडान पुनः सुरु भएको अवसरमा परम्परागत दियो बालेर स्वागत गरेका थिए। चिनियाँ वाणिज्य दूतावासका वरिष्ठ अधिकारी किन योङले यसलाई “भारत–चीन सम्बन्धका लागि महत्त्वपूर्ण दिन” भनेका छन्।
एक यात्रुले सीधा उडानले यात्रा समय र लजिस्टिकमा सुधार ल्याउने बताएका छन्। यसैबीच, चाइना इस्टर्न एअरलाइन्सले नोभेम्बरमा सांघाई–दिल्ली सीधा उडान सुरु गर्ने तयारी गरिरहेको छ ।



