काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लुम्बिनी प्रदेशको सभापतिमा शालिकराम घिमिरे निर्वाचित भएका छन्। रूपन्देहीका घिमिरे यसअघि प्रदेश उपसभापति थिए। उनी पहिले कोषाध्यक्ष हुँदै उपसभापति बनेका थिए।
शनिबार भएको मतदानमा ६ जनाबीच प्रतिस्पर्धा भएको थियो। पहिलो चरणमा कसैले पनि आवश्यक ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि दोस्रो चरणको तयारी गरिएको थियो। तर, गोपाल घिमिरेले शालिकरामलाई नेतृत्व स्वीकार गर्ने निर्णय गरेपछि पुनः मतदानको आवश्यकता परेन।
पहिलो चरणमा शालिकरामले १ सय ९९ मत प्राप्त गरेका थिए भने गोपालले ८७ मत पाएका थिए। तेस्रो स्थानमा गणेश पौडेल ८४ मतसहित रहे। पौडेल २०७९ मा एमाले नेता विष्णु पौडेलसँग चुनावमा भिडेका थिए। चौथो स्थानमा डा. राजकुमार सुबेदी ८० मतसहित रहे भने समानुपातिक सांसद मञ्जु भुसाल ७१ मतसहित पाँचौं स्थानमा रहे।
त्यस्तै, रुपन्देही–३ का क्षेत्रीय सभापति तथा भौतिक पूर्वाधार मन्त्रालयका सल्लाहकार अर्यालले १९ मत मात्र प्राप्त गरेका थिए।
दाङको घोराहीमा भएको मतदानमा कुल ५ सय ५२ मत खसेको थियो। समावेशी समूह थारू सदस्यतर्फ बिहारी चौधरीले २ सय ७५ मत र गोविन्दबहादुर थारूले २ सय ८३ मत प्राप्त गर्दै विजयी भए। मधेसी सदस्यतर्फ गौतमप्रसाद पाण्डे २ सय २३ मत र सञ्जयकुमार गुप्ता २ सय १५ मतसहित निर्वाचित भए। नौसिन खाति मधेसी सदस्यतर्फ निर्विरोध निर्वाचित भइन्।
खस आर्य सदस्यतर्फ ८ जना निर्विरोध निर्वाचित भए भने अन्य क्षेत्रगत सदस्यतर्फ अधिकांश पदमा मतदानमार्फत नेतृत्व चयन गरिएको निर्वाचन अधिकृतले जानकारी दिएका छन्।



