काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमका आक्रामक ब्याट्सम्यान तथा स्टार खेलाडी कुशल भुर्तेल नेपाल टेलिकमको ब्रान्ड एम्बेसडर नियुक्त हुनुभएको छ। नेपाली खेलकुद क्षेत्रको बढ्दो लोकप्रियता र देशको अग्रणी दूरसञ्चार सेवा प्रदायक संस्थाबीचको यो सहकार्यले खेलप्रेमीहरूमा नयाँ उत्साह थपेको छ।
कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित एक विशेष कार्यक्रमका बीच नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र नवनियुक्त ब्रान्ड एम्बेसडर कुशल भुर्तेलबीच औपचारिक रूपमा सम्झौता सम्पन्न भएको हो। प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र कुशल भुर्तेलले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
कार्यक्रममा बोल्दै प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले अन्तर्राष्ट्रिय खेल मैदानमा देशको नाम उचो राख्न अहम् भूमिका खेलेका भुर्तेललाई नेपाल टेलिकम परिवारमा स्वागत गर्न पाउँदा खुसी व्यक्त गर्नुभयो। उहाँले राष्ट्रिय गौरवसँग जोडिएका युवा प्रतिभालाई प्रोत्साहन गर्न टेलिकम सधैँ तत्पर रहेको बताउनुभयो।
ब्रान्ड एम्बेसडर नियुक्त भएपश्चात प्रतिक्रिया दिँदै क्रिकेटर कुशल भुर्तेलले करोडौँ नेपालीको विश्वास जित्न सफल प्रतिष्ठित राष्ट्रिय संस्था नेपाल टेलिकम जोडिन पाउँदा गर्व महसुस भएको बताएका छन्। उनले आगामी दिनमा मैदानभित्रको प्रदर्शनसँगै टेलिकमको ब्रान्डलाई अझ उचाइमा पुर्याउन आफ्नोतर्फबाट पूर्ण प्रतिबद्धता रहने बताएका छन्।



