काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान सरकारले देशको दूरगामी भविष्यका लागि आगामी १५ देखि २० वर्षको बलियो 'जग' खन्ने काम गरिरहेको बताएका छन्। अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा रास्वपाद्वारा काठमाडौँमा आयोजित एक विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारमा सहभागी भएको विगत चार महिनाको अवधिमा तत्कालै ठूला नतिजाहरू नदेखिए पनि मुलुकको दीर्घकालीन हितका लागि जग बसाल्ने काम भइरहेको दाबी गरे।
सभापति लामिछानेले नेपाली राजनीतिमा युवाहरूको बढ्दो लहर र संसदमा उनीहरूको उल्लेख्य उपस्थितिलाई नेपालको इतिहासकै ठूलो उपलब्धिको रूपमा चित्रण गरे। युवा उमेरमै देशको उच्च नेतृत्व तहमा पुग्न सफल हुनु गौरवको विषय भए पनि यसले ऐतिहासिक जिम्मेवारी थपेको उनको भनाइ थियो। उनले रास्वपा कसैको 'विकल्प खोज्ने' सामान्य दल मात्र नभई आफैँ बलियो 'विकल्प बन्ने' र देशको 'निर्विकल्प शक्ति' बन्ने उद्देश्यका साथ अघि बढिरहेको स्पष्ट पारे।
सम्बोधनका क्रममा लामिछानेले युवा सांसद र मन्त्रीहरूलाई पदको प्रतिष्ठामा मात्र नरमाई नतिजामुखी भएर काम गर्न विशेष आग्रह गरे। अहिलेको समय व्यक्तिगत सुखभन्दा पनि जनताले अनुभूत गर्ने गरी परिणाम दिने बेला भएको उनको तर्क थियो। युवा पुस्ताले देश र जनताका लागि काम गरेर प्रमाणित गर्नुपर्ने चुनौती रहेको तर्फ उनले सबैको ध्यान ध्यानाकर्षण गराए।
यदि वर्तमान युवा नेतृत्व आफ्नो जिम्मेवारीबाट पन्छिए वा काममा असफल भए भविष्यमा गम्भीर असर पर्ने उनले सचेत गराए। युवाहरू असफल हुँदा आगामी दिनमा "अनुभवहीन युवाहरूबाट राजनीति सम्भव छैन" भन्ने नकारात्मक र गलत भाष्य स्थापित हुन सक्ने खतरा औंल्याउँदै लामिछानेले सम्पूर्ण युवा नेताहरूलाई गम्भीर र जिम्मेवार बन्न अपिल गरे।