२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

खोक्रो लोकप्रियताको 'भाइरल सर्कस' र मृत मानवीय चेतना

images

  • २०८३ भदौ ९, मंगलबार
  • 1.8K
    SHARES
  • खोक्रो लोकप्रियताको 'भाइरल सर्कस' र मृत मानवीय चेतना

    लेखक: आशिष न्यौपाने

    काठमाडौँ : हामी कस्तो समाज निर्माण गर्दै छौँ? जहाँ मानवीय संवेदनशीलता, लज्जा, स्वविवेक र नैतिकताजस्ता शब्दहरू शब्दकोशमै सीमित हुन थालेका छन्। आजको समाज र शासन व्यवस्थामा बाँकी छ त केवल एउटै कुरा—खोक्रो लोकप्रियताको असीमित लालच र निर्लज्ज प्रचारबाजी।

    हालै घटेको सिमराको एउटा दुखद घटना र त्यसपछिको शासकीय व्यवहार यसको ज्वलन्त नमुना हो। न्यायको याचना गर्दै काठमाडौँ आइपुगेका पीडित पक्षसँग सरकार बैठक बस्छ। कानुन मन्त्री, गृहमन्त्री लगायत राज्यका प्रमुख अङ्गहरू झुम्मिन्छन्। ३ बुँदे सहमति त हुन्छ, तर मुख्य काम सहमति कार्यान्वयन गर्नुभन्दा बढी त्यसको ‘क्यामेरा सुट’ गर्नु बन्छ, यस्ता जघन्य अपराध कम गर्ने कानुन बनाउने तर्फ अग्रसर हुनुको साटो खोक्रो लोकप्रियतावाद प्राथमिकता बन्छ । छोरी गुमाएका अश्रुपुरित पिताको अनुहार अगाडि क्यामेरा तेर्स्याइन्छ, भिडियो खिचिन्छ र धन्यवाद भनिएको वा भन्न लगाइन्छ अनि सामाजिक सञ्जालमा पोस्ट्याइन्छ। के हो यो? 

    के यही हो सुशासन? के यही हो विधिको शासन? छोरी गुमाएको पीडामा छटपटाइरहेका बुबाको आँसुलाई भ्युज, लाइक र सेयरमा साट्ने यो कस्तो निर्लज्जता हो? अथवा न्यायको याचना गर्न आएका पिता मुस्कुराउँदै भिडियो बनाउने यो कस्तो किसिमको उत्साह हो? कुन्नि के गर्ने लाई भन्दा देख्नेलाई लाज भने जस्तो अवस्था छ।

    नाटक यतिमै सकिँदैन। अर्कोतर्फ, घटनाका मुख्य दोषी भनिएका युवकलाई प्रहरी हिरासतमा राखेर चारतिरबाट क्यामेरा तेर्साउँदै बयान लिएको भिडियो खिचिन्छ अनि घटनाको घटनाक्रमलाई सामाजिक सञ्जालमा सार्वजनिक गरिन्छ। अनुसन्धान र न्याय सम्पादनको कानुनी प्रक्रिया अब अदालतभन्दा बढी सामाजिक सञ्जालका ‘भाइरल रिल’ हरूमा सीमित हुन थालेको छ। प्रहरी र प्रशासन न्याय दिलाउने निकाय हुन् कि कुनै सस्तो स्टन्ट देखाएर डलर कमाउन लालायित हुने युट्युब च्यानल?

    राज्य र समाज दुवैमा मानवीय संवेदनशीलता र न्यूनतम नैतिकता सिद्धि सकेको छ। धर्म, शान्ति, मेलमिलाप, नैतिक चेतना, स्वविवेक अनि सामाजिक सद्भावका कुरा अब शब्दकोशमा मात्र सीमित छन्। सनातनी पौराणिक ग्रन्थहरूमा वर्णित कलियुगको लक्षण र आजको नेपाली समाजको तीतो यथार्थबिच अचम्मको समानता देखिन्छ। विष्णु पुराण र श्रीमद्भागवत जस्ता ग्रन्थहरूले हजारौँ वर्षअघि गरेको भविष्यवाणी अहिले हाम्रा आँखाअगाडि सामाजिक, राजनीतिक र नैतिक धरातलमा हुबहु उतारिएको आभास हुन्छ। श्रीमद्भागवतमा एउटा श्लोक छ :

     लिङ्गमेवाश्रमख्यातावन्योन्यापत्ति कारणमा। अवृत्त्या न्यायदौर्बल्यं पाण्डित्ये चापलं वचः॥

    अर्थात्  केवल बाह्य भेषभूषा र तिलकमैत्री (पाखण्ड) नै साधु वा सन्न्यासी हुनुको पहिचान बन्नेछ। साँचो ज्ञान र साधना बिना नै देखावटी वस्त्र लगाउनेहरू धर्मगुरु पुजिनेछन्। न्याय पाइँदैन किनकि गरिब हुनु नै अन्याय सहनुको कारण बन्नेछ, र धूर्ततापूर्ण वा चातुर्यपूर्ण बोली बोल्नुलाई नै 'पण्डित' वा ज्ञानी हुनुको प्रमाण मानिनेछ।

    यस्तै विष्णु पुराणमा एउटा श्लोक छ:

    स्तेयहिंसानृतप्रायो व्यर्थवैरः कलौ जन:। दम्भप्रधानो निस्त्रिंशः कामोपहतमानसः॥

    अर्थात् कलियुगका मानिसहरू चोरी, हिंसा, ढाँट-छल र असत्य बोल्नमा उद्यत हुनेछन्। बिना कारण एक-अर्कासँग वैरभाव राख्नेछन्। सत्यको लोप भई घमन्ड, पाखण्ड र छल-कपट गर्नु नै मानिसको मूल स्वभाव बन्नेछ र अरूलाई ठग्नु वा चाटुकारिता गर्नुलाई नै चलाखी (योग्यता) मानिनेछ।

    यही सामाजिक सञ्जालको लोकप्रियता, क्षणिक प्रसिद्धि र भौतिक सफलताको दौडमा मानिसहरू मानवीय सम्बन्ध, सहानुभूति र सामाजिक उत्तरदायित्वबाट टाढिँदै गएको अनुभूति हुन्छ। धर्मका नाममा पनि कतिपय अवस्थामा आस्था र आध्यात्मिकताभन्दा प्रदर्शन, व्यापार र व्यक्तिगत स्वार्थ हाबी भएको देखिन्छ भने राजनीति सेवाको माध्यम हुनुपर्नेमा सत्ता, पहुँच र लाभको प्रतिस्पर्धामा सीमित हुने खतरनाक खेलको अड्डा बनेको  छ।

    गरिब, कमजोर र पहुँचविहीन नागरिकले न्याय र अवसर प्राप्त गर्न कठिनाइ महसुस गर्नु तथा शक्तिशाली र प्रभावशाली व्यक्तिका लागि नियमको प्रयोग फरक ढङ्गले भएको अनुभूति हुनु लोकतान्त्रिक राज्यका लागि गम्भीर चुनौती हो। यसरी हेर्दा कलियुगका लक्षणहरूको चर्चा गर्नुको उद्देश्य निराशा फैलाउनु होइन, बरु समाजको नैतिक ऐना हेरेर आत्म समीक्षा गर्नु हो। हामी कस्तो समाज बनाउँदै छौँ अनि हाम्रा अघिल्लो पिँडीलाई कसरी तयार गर्दैछौं भन्ने कुरामा चिन्तन गर्न जरुरी छ।

    अन्ततः समाज र राज्यको सुधार सामाजिक सञ्जालको प्रचारबाजीबाट मात्र सम्भव हुँदैन। त्यसका लागि नागरिकको चरित्र, नेतृत्वको नैतिकता, संस्थागत जवाफदेहिता र मानवीय संवेदनशीलताको पुनर्जागरण हुन आवश्यक हुन्छ। धर्मको वास्तविक मर्म बाह्य आडम्बरमा होइन, सत्य, करुणा, न्याय, सेवा र सदाचारमा खोज्नुपर्छ। यदि हामीले क्षणिक स्वार्थभन्दा सार्वजनिक हित, घृणाभन्दा सहिष्णुता र पाखण्डभन्दा सत्य अनि अनैतिकताभन्दा विवेकशीलतालाई प्राथमिकता दिन सकेनौँ भने पौराणिक ग्रन्थमा वर्णित कलियुगका लक्षणहरू भविष्यवाणी मात्र नभई हाम्रो समाजको स्थायी परिचय बन्ने खतरा रहनेछ।

    त्यसैले आजको सबैभन्दा ठुलो आवश्यकता नैतिक चेतनाको पुनर्जागरण र मानवीय मूल्यहरूको पुनर्स्थापना हो। न्याय र सुशासनलाई क्यामेराको लेन्स र सामाजिक सञ्जालको प्रतिक्रियाबाट नाप्ने रोगबाट माथि उठी भाइरल हुने नाटकीय प्रवृत्ति र प्रचारबाजी छोडी विवेकपूर्ण र न्यायसङ्गत कार्य गर्नु आजको आवश्यकता हो।

    लेखक: आशिष न्यौपाने

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ