काठमाडौँ : दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल (Ncell) ले भोटेकोशी क्षेत्रमा आएको भीषण बाढी प्रभावितहरूको खोज, उद्धार तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड
रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको छ।
साथै, बाढी प्रभावित क्षेत्रमा रहेका एनसेल प्रयोगकर्ताहरूका लागि ३ दिनका लागि लागू हुने गरी निःशुल्क भ्वाइस, डेटा र १०० वटा एसएमएस सेवा उपलब्ध गराइएको छ।
पूर्वघोषित प्रतिबद्धताबमोजिम एनसेलका प्रतिनिधिहरूले माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेट गरी उक्त रकमको चेक औपचारिक रूपमा हस्तान्तरण गरेका हुन्। प्राकृतिक विपत्तिका कारण उत्पन्न यस कठिन घडीमा एनसेलले उपलब्ध गराएको सहयोगले प्रभावित क्षेत्रमा राहत सामग्री पुर्याउन, उद्धार कार्यलाई तीव्र बनाउन र बाढीपीडितहरूको पुनर्स्थापनामा महत्त्वपूर्ण बल पुग्ने विश्वास व्यक्त गरिएको छ।
भेटका क्रममा एनसेलका प्रतिनिधिहरूले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत विपद्को समयमा राज्यलाई सहयोग गर्न पाउँदा खुसी व्यक्त गरे। साथै, आगामी दिनहरूमा पनि बाढीप्रभावित क्षेत्रको सञ्चार सेवा सहज बनाउन र पुनर्निर्माणमा निरन्तर सहकार्य गर्ने प्रतिबद्धता जनाइएको छ।