२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

प्रधानमन्त्री राहत कोषमा चीन सरकारको ३० करोड सहयोग रकम अर्थमन्त्रीमार्फत हस्तान्तरण

images

  • २०८३ भदौ १४, आइतबार
  • 261
    SHARES
  • प्रधानमन्त्री राहत कोषमा चीन सरकारको ३० करोड सहयोग रकम अर्थमन्त्रीमार्फत हस्तान्तरण

    काठमाडौँ : चीन सरकार र चिनियाँ रेडक्रसले नेपालका बाढीपीडितका लागि घोषणा गरेको राहत रकम तथा सहयोग सामग्री आधिकारिक रूपमा हस्तान्तरण गरेको छ।

    आइतबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई झन्डै साढे ३० करोड नेपाली रुपैयाँ (२० लाख अमेरिकी डलर) को चेक हस्तान्तरण गरे। सोही अवसरमा चिनियाँ रेडक्रसको तर्फबाट उपलब्ध गराइएको ३ करोड ६ लाख रुपैयाँ (२ लाख अमेरिकी डलर) बराबरको थप नगद सहयोग पनि हस्तान्तरण गरियो।

    सहायता रकम बुझाउँदै राजदूत माओमिङले हिमाली क्षेत्रमा परेको प्राकृतिक विपत्तिको सामना नेपाल र चीनले मिलेर गर्ने प्रतिबद्धता जनाए। चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीले नेपाललाई पूर्ण सहयोगको सन्देश पठाएको उल्लेख गर्दै उनले चीन सधैँ नेपालको दुःखमा साथमा रहेको बताए।

    भौतिक तथा आर्थिक सहयोगका साथै अन्य अत्यावश्यक सामग्रीहरू पनि नेपाल आइपुग्न थालेका छन्। आइतबार मात्रै दुई चिनियाँ विमानमार्फत ५० टन राहत सामग्री (टेन्ट, कम्बल, स्लिपिङ ब्याग, मेडिकल किट र बिस्कुट) काठमाडौँ अवतरण भइसकेको छ।

    राजदूत माओमिङका अनुसार रसुवामा आएको बाढीका कारण चीनतर्फ रोकिएका नेपालीहरूलाई मुस्ताङको कोरला नाका हुँदै फर्काउन पहल भइरहेको छ। साथै, जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको उद्धारका लागि चिनियाँ हेलिकप्टरसहितको दक्ष टोली र प्राविधिकहरू नेपाल आइपुगिसकेका छन्। नेपाल सरकारको मागअनुसार ठूलो परिमाणमा सामग्री ओसारपसार गर्न सक्ने ड्रोन चीनबाट पठाउने प्रक्रिया पनि तीव्र पारिएको छ।

    चीन सरकारप्रति कृतज्ञता व्यक्त गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विपत्तिका कारण दुवै देशले व्यहोर्नुपरेको मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गरे। उनले बाढीमा परी ज्यान गुमाएका चिनियाँ नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरे।

    जलवायु परिवर्तन र बढ्दो तापक्रमका कारण हिमाली क्षेत्रले यस्ता विनाशकारी विपत्तिको सामना गर्नुपरेको भन्दै अर्थमन्त्री डा. वाग्लेले यस समस्यासँग लड्न नेपाल र चीनबीच सहकार्य आवश्यक रहेको बताए। उनले आगामी दिनमा पुनर्निर्माणका लागि पनि चीनबाट ठूलो सहयोगको अपेक्षा राखिएको उल्लेख गरे।

    हस्तान्तरण कार्यक्रमको सुरुआतमा अर्थमन्त्री डा. वाग्ले र चिनियाँ राजदूत माओमिङले बाढीमा परी ज्यान गुमाएका दुवै देशका नागरिकहरूको सम्झनामा मौनधारण गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ