काठमाडौँ : देशैभर दूरसञ्चार सेवाको पहुँच विस्तार र गुणस्तर सुदृढ गर्ने अभियानलाई निरन्तरता दिँदै नेपाल टेलिकमले हालै विभिन्न ११ जिल्लाका १३ ठाउँमा नयाँ २जी तथा ४जी मोबाइल टावर (साइट) सञ्चालनमा ल्याएको छ।
टेलिकमका प्रवक्ता डा. कमल लामिछानेका अनुसार भौगोलिक रूपमा विकट तथा सेवाको माग बढी भएका क्षेत्रहरूलाई प्राथमिकतामा राखेर यी नयाँ टावरहरू निर्माण र सञ्चालन गरिएका हुन्।
कुन-कुन क्षेत्रमा विस्तार भयो सेवा?
बागमती प्रदेश : ललितपुर महानगरपालिका वडा नं. ३ को कार्यालय क्षेत्र र च्याउन्डाँडा तथा चितवनको मोहनपुर।
गण्डकी प्रदेश : नवलपुरको पोखरीडाँडा र लमजुङको मध्यनेपाल।
लुम्बिनी प्रदेश : कपिलवस्तुको धर्मपानी, पाल्पाको रामपुर र होङ्सी।
कर्णाली प्रदेश : जुम्लाको कनकासुन्दरी र सुर्खेत–जुम्ला सडक खण्ड।
सुदूरपश्चिम प्रदेश : बाजुराको बडिमालिका, डडेल्धुराको गाङ्खेत र दार्चुलाको रिठाचौपाटा।
यस नयाँ टावरहरू सञ्चालनमा आएसँगै सम्बन्धित क्षेत्रका बासिन्दा तथा यात्रुहरूले गुणस्तरीय भ्वाइस (फोन) र द्रुत गतिको डेटा/इन्टरनेट सेवा प्रयोग गर्न पाउनेछन्। आगामी दिनमा पनि सेवा नपुगेका दुर्गम क्षेत्रहरू पहिचान गरी क्रमैसँग नयाँ टावरहरू थप्दै जाने र सञ्चार पहुँचलाई अझ व्यापक बनाउने रणनीति टेलिकमले लिएको छ।