दुबई : संयुक्त अरब इमिरेट्स (यूएई) मा बसोबास गर्दै आएका नेपालीहरूले अब नयाँ बनेको पासपोर्ट लिनका लागि नेपाली महावाणिज्यदूतावास धाइरहनुपर्ने बाध्यता हट्ने भएको छ। महावाणिज्यदूतावास दुबईले एक सूचना जारी गर्दै नयाँ राहदानी 'इमिरेट्स पोस्ट' (Emirates Post) मार्फत सम्बन्धित आवेदकमै पुर्याउने (होम डेलिभरी) व्यवस्था मिलाइएको जानकारी दिएको छ।
पासपोर्ट संकलन गर्नकै लागि महावाणिज्यदूतावास पुग्नुपर्दा कामबाट छुट्टी नपाउने, समय लाग्ने र अतिरिक्त यात्रा खर्च हुने भन्दै सेवाग्राहीहरूले लामो समयदेखि गुनासो गर्दै आएका थिए। नेपाली समुदायको सोही असुविधालाई ध्यानमा राख्दै हुलाक सेवामार्फत घरदैलोमै डेलिभरी गर्ने निर्णय गरिएको महावाणिज्यदूतावासले जनाएको छ।
कसरी लिने यो सेवा ?
-
आवेदन फाराम : नयाँ पासपोर्टका लागि महावाणिज्यदूतावासमा बायोमेट्रिक (बायोमेट्रिक दर्ता) दिने समयमै सेवाग्राहीले डेलिभरी फाराम भरेर बुझाउनुपर्नेछ।
-
डेलिभरी प्रक्रिया : नेपालबाट नयाँ पासपोर्ट बनेर आएपछि महावाणिज्यदूतावासले सो राहदानी इमिरेट्स पोस्टलाई हस्तान्तरण गर्नेछ।
-
शुल्क : पासपोर्ट हात पर्ने समयमा आवेदकले इमिरेट्स पोस्टलाई १५ दिराम र भ्याट (VAT) सहित कुल १५.७५ दिराम बुझाउनुपर्नेछ।



