हुम्ला : हुम्लाको चंखेली गाउँपालिका–२ स्थित बागेढुंगा सामुदायिक वनमा जडीबुटी (कटुको) संकलन गर्न पुगेका मुगुका स्थानीयवासीमध्ये एक जनाको ज्यान गएको छ भने नौ जना अझै बेपत्ता छन्। जडीबुटी संकलनका लागि हुम्ला पुगेका मुगुम कार्मारोङ गाउँपालिका–९ पापु र छाइल गाउँका २२ वर्षीय गणेश बुढाको हिउँमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डीएसपी रविराज थपलियाले जानकारी दिए।
प्रहरीका अनुसार गत भदौ २८ गते १३ जनाको टोली कटुको संकलनका लागि बागेढुंगा सामुदायिक वन पुगेको थियो। तर, स्थानीय सामुदायिक वन उपभोक्ता समितिले आफ्नो क्षेत्रमा जडीबुटी संकलन गर्न रोक लगाएपछि उनीहरू फर्किएका थिए। फर्कने क्रममा घुँडासम्म बाक्लो हिउँ जमेको क्षेत्रमा अत्यधिक चिसो र हिमपातका कारण गणेश बुढाको मृत्यु भएको प्रहरीको भनाइ छ।
यी हुन् बेपत्ता हुनेहरू :
-
पापु गाउँका : बलबहादुर बुढा (२८), प्रकाश बुढा (२७), ललितजंग बढुवाल (३६), जयबहादुर बढुवाल (३५) र ओखबहादुर रोकाय (२६)।
-
छाइल गाउँका : जयबहादुर रोकाय (३६), वीरबहादुर ऐडी (४२), प्रेम रोकाय (२३) र पवन रोकाय (१९)।



