काठमाडौं : सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशी राज दाहाललाई सरकारले सेवाबाट बर्खास्त गरेको छ। सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहावट गरेको आरोपमा उनीमाथि विभागीय कारबाही गर्दै गृह मन्त्रालयले सेवाबाट हटाउने निर्णय गरेको हो।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार दाहाललाई आजैदेखि लागू हुने गरी सेवाबाट बर्खास्त गरिएको छ। मन्त्रालयले जारी गरेको विज्ञप्तिमा प्रचलित कानुनअनुसार पालना गर्नुपर्ने पदीय आचरण उल्लङ्घन गरेको आधारमा उनीमाथि कारबाही गरिएको उल्लेख छ।
यसअघि संवेदनशील सूचना चुहावटको विषयलाई लिएर सरकारले गत १९ असोजमा दाहाललाई पदबाट निलम्बन गरेको थियो। घटनाबारे थप छानबिन गरी प्रतिवेदन पेस गर्न जाँचबुझ अधिकृतसमेत तोकिएको थियो।
सशस्त्र प्रहरी बलले सुरक्षासँग सम्बन्धित गोप्य सूचना चुहावट गरी पदीय आचरणविपरीत काम गरेको आरोपमा दाहालमाथि कारबाही गर्न गृह मन्त्रालयसमक्ष सिफारिस गरेको थियो। सोही विषयमा आवश्यक प्रक्रिया अघि बढाउँदै मन्त्रालयले उनलाई सेवाबाट हटाउने निर्णय गरेको हो।
गृह मन्त्रालयले मातहतका कर्मचारीबाट हुने पदीय आचरणविपरीतका गतिविधि, संवेदनशील तथा गोप्य सूचनाको चुहावट र शान्ति सुरक्षामा प्रतिकूल असर पार्न सक्ने कार्यमाथि निगरानी तथा विश्लेषण गरिरहेको जनाएको छ।
सरकारी निकायमा कार्यरत कर्मचारीले आफ्नो जिम्मेवारी निर्वाह गर्दा गोपनीयता र पदीय मर्यादा कायम राख्नुपर्नेमा मन्त्रालयले जोड दिएको छ।




