मङ्सिर ७, काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको ४ महिनामा रु १२ अर्ब ५० करोड बराबरको बिजुली भारत निर्यात गरेको छ। प्राधिकरणले सो अवधिमा १ अर्ब ३६ करोड १२ लाख युनिट विद्युत् निर्यात गरी रु १२ अर्ब ५० करोड ८ लाख बराबरको रकम आर्जन गरेको छ।
विद्युत् निर्यात गत आव २०७९/८० को सोही अवधिको तुलनामा रु ४ अर्ब ८६ करोड ४४ लाखले बढी हो। गत आवको पहिलो ४ महिनामा ९८ करोड ३८ लाख युनिट विद्युत् निर्यात गरी रु ७ अर्ब ६३ करोड ६४ लाख आर्जन गरिएको थियो।
प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् यसवर्ष गत २८ जेठबाट भारतीय बजारमा बिक्री सुरु गरेको थियो। गत जेठदेखि कात्तिकसम्ममा १ अर्ब ६२ करोड १६ लाख युनिट विद्युत् निर्यात गरी रु १४ अर्ब ५० करोड २१ लाख आर्जन भएको छ।
प्राधिकरणले साउनमा रु २ अर्ब १४ करोड ७६ लाख, भदौमा रु ३ अर्ब ४७ करोड ८५ लाख, असोजमा रु ४ अर्ब १७ करोड ७७ लाख र कात्तिकमा रु २ अर्ब ६९ करोड ७० लाख बराबरको विद्युत् निर्यात गरेको छ।
४ महिनाको समग्र औसत विद्युत् बिक्री दरप्रति युनिट ९ रुपैयाँ १८ पैसा छ। गत वर्ष सोही अवधिको समग्र औसत बिक्री दर प्रति युनिट ७ रुपैयाँ ७६ पैसा थियो।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ४ महिनाको अवधिमा विद्युत् निर्यातबाट ७ अर्ब ८४ करोड ८० लाख भारतीय रुपैयाँ आर्जन भएकाले यसबाट देशको विदेशी मुद्रा सञ्चिति र नेपाल र भारतबीचको व्यापार घाटा कम गर्न योगदान पुगेको बताउनुभयो।
प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गर्दै आएको छ। प्रााधिकरणले आइएक्सको डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत र मध्यकालीन विद्युत् सम्झौता बमोजिम करिब ११० मेगावाट विद्युत् भारतीय कम्पनी एनटिपिसी विद्युत् व्यापार निगमलाई बिक्री गरिरहेको छ। एनभिएनले उक्त विद्युत् हरियाणा राज्यमा बिक्री गरिरहेको छ।
भारतको केन्द्रीय विद्युत् प्राधिकरणले प्रतिस्पर्धी बजारमा निर्यातका लागि स्वीकृति दिइएकै ५२२ मेगावाटमध्ये पहिलो चरणमा करिब ४४ मेगावाट विद्युत् रियल टाइम मार्केटमा बिक्रीलाई पनि अनुमति दिएको छ।
नेपाल विद्युत् प्राधिकरणले प्रतिस्पर्धी बजारमा ५२२ मेगावाट र एनभिभिएनलाई ११० मेगावाट गरी ६३२ मेगावाट विद्युत निर्यातका लागि स्वीकृति पाएको छ। यसमध्ये ५६२ मेगावाट विद्युत् ढल्केबर–मुजफ्फपुर ४ सय केभी अन्तरदेशीय प्रसारण लाइनबाट र ७० मेगावाट महेन्द्रनगर–टनकपुर १३२ केभी प्रसारण लाइनबाट निर्यात भइरहेको छ।



