काठमाडौं : साबिक विजेता गुजरात टाईटन्सलाई हराउदै चेन्नाई सुपर किंग्स १० औं पटक ईन्डियन प्रिमियर लिग (आइपीएल)को फाइनल प्रवेश गरेको छ। मंगलबार राति घरेलु मैदानमा भएको पहिलो क्वालिफायरमा गुजरातलाई १५ रनले हराउँदै चेन्नई उपाधि नजिक पुगेको हो।
एमए चिदम्बरम रंगशालामा गुजरातले टस जितेर बलिङ रोजेको थियो। पहिले खेलेको चेन्नईले २० ओभरमा ७ विकेट गुमाएर १७२ रन बनाएको थियो।चेन्नईका लागि ओपनर रुतुराज गायकवाडले ४४ बलमा ६० रन र डेभन कनवेले ३४ बलमा ४० रन, रविन्द्र जोडेजाले २२ रन, अन्जिका राहाणे र अम्बाती रायडु १७/१७ बनाएका थिए।
बलिङमा गुजरातका मोहमद सामी र मोहित शर्माले २/२ विकेट लिएका थिए।
१७३ रनको लक्ष्य पछ्याएको गुजरात टाइटन्सले २० ओभरमा १५७ रन बनाएर अलआउट भएको थियो। गुजरातका लागि ओपनर शुभमन गिलले ३८ बलमा ४२ रन, राशिद खानले ३० रन, विजय शंकरले १४ रन, दाशुन शनकाले १७ रन र ऋद्धिमान शाहले १२ रन बनाएका थिए।
बलिङमा चेन्नईका दीपक चाहर, रविन्द्र जडेजा, महीश तिक्षणा र मथीशा पाथिरनाले २/२ विकेट लिएका थिए।
पराजित गुजरातले फाइनल प्रवेशका लागि अर्को मौका पाउने छ । गुजरातले फाइनल प्रवेशका लागि बुधबार मुम्बई इन्डियन्स र लखनउ सुपर जायन्ट्सबीच हुने ईलिमिनेटर खेलको विजेतासँग शुक्रबार खेल्नेछ।



