काठमाडौं :- व्यवसायीहरुले बजार मूल्य नपाएको भन्दै कालिमाटी तरकारी बजारमा गोलभेंडा सडकमा फ्याकेर बिरोध गरेका छन् । आईतवार गोलभेंडा व्यवसायीहरुले बजारमा खपत नभएको तथा बजार मूल्य नपाएको भन्दै सडकमा गोलभेंडा फ्याकेक हुन् ।
गोलभेंडा उत्पादक कृषक बरुणबहादुर रोक्काले नेपाली किसानहरुले उत्पादन गरेको गोलभेंडाले बजार मूल्य र प्राथमिकता नपाएकाले सडकमा फ्याक्न बाध्य भएको बताउनु भयो । उहाँले सरकारले किसानले उत्पादन गरेको तरकारीजन्य वस्तुहरुको मूल्य तोकेर सहुलियतमा उपभोक्ताले पाउनुपर्ने बताउनु भयो।
उहाँले अहिले नेपाली किसानहरुले उत्पादन गरेको वस्तुले बजार मूल्य र प्राथमिकता नपाउने तर विदेशीबाट आयात भएर आएको बस्तुले बजार लिने गरेको बताउनु भयो।
कृषक रोक्काले कालिमाटी बजारमा व्यवसायीहरुले किसानसँग ८ रुपैयाँ किलो किन्ने र बजारमा उपभोक्तालाई ४० रुपैयाँमा बेच्न नहुने बताउनु भयो। उहाँले सरकारले किसानले पाउने मूल्य र उपभोक्ताले खरिद गर्ने मूल्य तोक्न नसक्नुले विकृति भइरहेको बताउनु भयो ।
कालिमाटी तरकारी बजारमा किसानहरुले तीन,चार सय क्रेट जति गोलभेंडा सडकमा फ्याकेका थिए । किसानहरुले करिब ३० हजार किलो गोलभेंडा कालीमाटी बजारको गेट, भित्री सडक र बजारमा फ्याँकिएको छ ।



