काठमाडौं : आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको दोस्रो खेलमा आज मंगलबार नेपालले अमेरिकासँग सामना गर्दैछ। नेपाल र अमेरिकाबीचको खेल टाकासिंगा स्पोर्ट्स क्लबमा नेपाली समयअनुसार पौने १ बजे सुरु हुनेछ।
आजको खेलमा दुवै टोली पहिलो जितको खोजीमा हुनेछन्। नेपाल र अमेरिका दुवैले आफ्नो पहिलो खेलमा हार बेहोरेको थिए। नेपाल जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो। उता,अमेरिका भने वेस्ट इन्डिजसँग ३९ रनले पराजित भएको थियो।
यस्तै,अर्को खेल दिउँसो पौने १ बजे हरारे स्पोर्ट्स क्लबमा जिम्बावे र नेदरल्यान्ड्स खेल्दैछन्।
विश्वकप छनोटमा नेपालको खेल
विश्वकप छनोटमा सहभागी १० टिम २ समूहमा विभाजित छन्। समूह ‘ए’मा रहेको नेपालसँगै घरेलु टिम जिम्बाब्वे,अमेरिका,वेस्ट इन्डिज र नेदरल्यान्ड्स छन्। समूह ‘बी’मा आयरल्यान्ड,श्रीलंका,यूएई,ओमान र स्कटल्यान्ड छन्।
समूहका शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन्। सुपर सिक्सका शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउनेछन्।
नेपालको तेस्रो खेल वेस्ट इन्डिजसँग असार ७ र अन्तिम खेलमा नेदरल्यान्डसँग असार ९ मा खेल्नेछ।



