काठमाडौं : नेपालले हालसम्म तिर्न बाँकी सार्वजनिक ऋणको दायित्व रू २१ खर्ब ७३ अर्ब २४ करोड ७२ लाख पुगेको छ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७९/८० को जेठ मसान्तसम्म मुलुकको आन्तरिक ऋण १० खर्ब ९९ अर्ब ७२ करोड र बाह्य ऋण १० खर्ब ७३ अर्ब ५२ करोड रुपैयाँ पुगेको हो।
चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ३ खर्ब ६ करोड रुपैयाँ ऋण थप भएको छ। आन्तरिकतर्फ २ खर्ब २० अर्ब ३८ करोड रुपैयाँ ऋण थप भएको हो भने बाह्यतर्फ ७९ अर्ब ६७ करोड रुपैयाँ थप भएको छ।
उक्त अवधिसम्म सरकारले २ खर्ब ५ अर्ब १६ करोड रुपैयाँ सावाँ र ब्याज भुक्तान गरेको छ। आन्तरिकतर्फ १ खर्ब ६४ अर्ब ४८ करोड रुपैयाँ र बाह्यतर्फ ४० अर्ब ६८ करोड रुपैयाँ ऋण तिरेको हो।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांक हेर्दा ऋण तिरेको रकमभन्दा ९४ अर्ब ९० करोड रुपैयाँभन्दा बढी ऋण रकम बढेको छ। सरकारले आन्तरिक र बाह्य स्रोतबाट लिएको सावाँ मात्र १ खर्ब ४० अर्ब ११ करोड रुपैयाँ भुक्तान गरेको छ।



